‘सोचे झै जिन्दगी रहिनछ’ जस्तै भयो नीतिको भाग्यमा फिल्म

सोचे झैँ जिन्दगी रहिनछ, यो केही वर्ष अघि सार्वजनिक भएको गीत हो । यो गीतको अर्थ धेरैको जीवन मोडमा मेल खान पुगिरहेको छ । गायक खेम सेञ्चुरी र गायिका मधु क्षेत्रीको युगल गायन रहेको यो गीत मिस इन्टरनेशनल नेपाल २०१७ की विजेता नीति शाहलाई केही हद सम्म मेल हुन पुगेको देखिन्छ । 

त्यसो त नीति आफूलाई अभिनेत्रीका रूपमा उभ्याउनलाई सगरमाथा चढे झैँ भैरहेको छ । । सुरुवाती चरणमा उनले फिल्म गर्ने भन्दै निर्माता तथा निर्देशक सन्तोष सेनले बनाउने भनेको फिल्म ‘हुतुतु’ मार्फत नायिकाका रूपमा आफूलाई उभ्याउने कुरा चल्यो । त्यो फिल्म बनाउने भन्ने कुराले कबड्डी खेलिरहयो निर्माण पक्ष, तर निर्माण हुनै सकेन ।

यसपछि नीतिले आफ्नो अभिनेत्री बन्ने चाहना पुरा होला कि भनेर अनमोल केसीले अभिनय गर्ने फिल्म ‘एक्स ९’ मा पनि काम गर्ने भएकी थिइन् । उनले ‘एक्सन ९’मा महंगो पारिश्रमिक लिएको र अनमोलसँग आफ्नो दह्रो जोडी बाँधिने र सफलता पाउने चर्चा मात्रै भयो । 

‘एक्स ९’लाई मुकुन्द भट्टले निर्देशन गर्ने कुरा रहेको थियो । न त यो फिल्म मुकुन्द भट्टले बनाउन सके, न नीतिले नै काम गर्न पाइन् । पछि गएर यो फिल्ममा भित्रिएका कलाकारले एक–एक गर्दै फिल्म छाड्न थाले । त्यस बेला नीतिको अभिनेत्री बन्ने सपना पुरा हुन सकेन । फिल्म नबनाउँदै मुकुन्द भट्टले अर्को फिल्म ‘चोर पुलिस’ बनाउने कुरा बाहिरियो । 

लामो समयको पर्खाइपछि अभिनेता प्रदीप खड्कासँग स्क्रिन शेयर गर्न पाउने भन्दै उनले ‘कामिनो’ नामक फिल्ममा पनि अनुबन्धित भएको कुरा आयो । तर यो फिल्ममा बन्ने भन्दा बढी नबन्ने हल्ला दिनदिनै चल्यो । अनि नीतिलाई लाग्यो र उनले पनि यस फिल्मबाट हात झिकिन् ।

त्यसयता फिल्ममा आफ्नो दरिलो कमब्याक गराउने चाहना पुरा नहुने जस्तो नदेखिएपछि नीति अझ केही अभिनय सिक्छु भन्दै बलिउडका चर्चित कलाकार अनुपम खेरको इनिष्टिच्यूटमा भर्ना हुन पुगिन् । 

त्यसो त नीतिले गर्ने भनिएका फिल्मका वर्कसप पनि चले । उनले त्यस बेला अभिनयमा सहजता ल्याउनलाई गरिने वर्कसपमा आफू पनि सहभागी भइन् । तर नीतिका बारेमा वर्कसप कक्षा गराउने प्रशिक्षकहरूले उनको अभिनयमा खोट देखाउने गरेको गाइँगुइँ हल्ला फिल्मी बजारमा चल्ने गरेको छ । त्यसैले होला नीतिले आफ्नो अभिनयमा लगाइरहेको आरोपमा निखारता ल्याउन अनुपम खेरको स्टुडियो पुगेको हुनसक्छ ।

यो कुराकै बीचमा नीतिले फेरी अनमोलसँगको स्क्रिन शेयर गर्न पाउने सपना पुरा होला कि भनेर सुदर्शन थापाको फिल्म ‘रावायण’मा भित्रिइन् ।

‘आकाशको फल आँखा तरी मर’ भन्ने उखान जस्तै नीतिलाई सुदर्शनको ‘रावायण’ले अभिनेत्री बन्ने सपना साकार नहुने देखिएको छ । रावायणबाट पनि अनमोल बाहिरिएको चर्चा छ । उनले यसको संकेत उनको सामाजिक सञ्जाल फेसबुकमा गरेका छन् । उनले पोस्टमा आफ्नो फेसबुक पेजमा सार्वजनिक भएपछि मात्र आफू कुनै फिल्ममा आधिकारिक रूपमा बुझन भनेका छन् । स्मरण रहोस् उनले रावायण सम्बन्धी कुनै पनि जानकारी पोस्ट गरेका छैनन् । यस्तो अवस्थामा नीतिको अभिनेत्री बन्ने सपना यसबाट पनि पुरा नहुने शंका देखाउँछ ।

नीतिका बारेमा फिल्म वृत्तले भन्ने एउटै कुरा छ, नीति जुन फिल्ममा भित्रिन्छिन् या गर्ने भन्छिन्, त्यो फिल्म बन्दै बन्दैन भन्ने खोट लगाइरहेका छन् । यस्तो अवस्थामा ‘रावायण’को भविष्य के हुने हो भन्ने चासो पनि बढेको छ । किनकि त्यहाँ पनि नीति नै जोडिएकी छिन् ।