एक विपिन, विविध विपिन

अभिनेता विपिन कार्की कुनै फिल्ममा अनुबन्धित हुँदा विशेषतः सञ्चारकर्मी र पत्रकारका कान ठाडा र आँखा तिखा हुन्छन् । उनी बाहिर देख्दा सामान्य देखिन्छन्, तर पर्दामा फरक रुपमा प्रस्तुत हुन्छन् । विपिनको यही शैलीले जोकोहीलाई उनीप्रति चासो बढाइरहन्छ, मनमा कौतुहलता उत्तिकै उब्जादिन्छ ।

विपिनले फिल्म ‘लुट’बाट फिल्मी अभिनय सुरु गरे पनि ‘छड्के’बाट फिल्मवृत्तमा ‘विन्दु’ चरित्रबाट चिनिए । उनलाई लोकप्रिय बनाउने श्रेय भने ‘पशुपति प्रसाद’को ‘भष्मे डन’ चरित्रले दियो ।
विपिनले ‘जात्रा’ र ‘जात्रै जात्रा’मा कथाको माग अनुसार एकै चरित्र निभाए । यी दुई फिल्मबाहेक अन्य फिल्म हेर्ने हो भने प्रत्येक फिल्ममा फरक विपिन भेटिन्छन् । उनको यही अभिनय शैलीले फिल्मकर्मी, दर्शक या मिडियामाझ फरक छाप छोडेको छ ।

उनी दर्शकमाझ आगामी भदौ २९ गतेबाट रिलिज हुने फिल्म ‘एक भगवत् गीता’मा ‘कमलामाई’ चरित्रमा देखिँदैछन् । विपिनको अहिलेसम्मको फिल्मी करियरमा यो चरित्र बिल्कुलै फरक हो । फरक यसकारण पनि हो कि ‘कमलामाई’ आफैंमा पारालैंगिक चरित्र हो ।

विपिनले यो चरित्रको पूर्व तयारीका लागि जनकपुर पुगेर त्यहाँको पारालैंगिक समुदायसँग झण्डै दुई महिना बिताए । ‘सुरुवाती दिनमा केही असहज महशुस भयो । किनभने यस्तो चरित्र पहिलोपटक निभाउँदै थिएँ । उहाँहरुको हिँडाइ, बोलाई, शारीरिक हाउभाउलाई टिप्न केही समय लाग्यो’, विपिन भन्छन्, ‘तर सबै कुरा टिपिसकेपछि धेरै सहज भयो । यो समयावधिमा उहाँहरुको पीडा, खुशीदेखि हरेक विषयलाई नजिकबाट बुझ्ने मौका पाएँ ।’

फिल्मका अन्य कलाकारलाई भन्दा विपिनलाई यो फिल्ममा सजिनका लागि समय पनि लाग्यो । ‘अन्य कलाकारको मेकअपदेखि पहिरनको काम छिटो भइरहँदा मेरो मेकअपमै झण्डै दुई घण्टा समय लाग्थ्यो । सारी लगाउँदा मेरो जिउको रौं देखिने भएपछि कम्मरको रौं पनि फ्याल्नु पर्यो । अहिले पनि त्यहाँ दुख्ने गर्छ’, विपिन सम्झन्छन् ।

फिल्मको ट्रेलर हेरेपछि विपिन केही भावुक पनि बनेका रहेछन् । ‘ट्रेलर हेरेपछि पारालैंगिक समुदायको पीडालाई झन नजिकबाट बुझें । किनभने सुटिङमा आफ्नो सट पुरा भएपछि के कस्तो भयो भनेर एक पटकमात्र हेरिन्थ्यो । तर ट्रेलरमा संवाददेखि दृश्यले मलाई भावुक बनायो । उहाँहरुको पीडालाई मैले बुझ्न सकें,’ विपिन भन्छन् ।

‘एक भगवत् गीता’ सुटिङमा विपिनले आफूलाई चरित्रमा यसरी प्रस्तुत गरेका थिए कि फिल्मकी निर्देशक झरना थापाले पनि उनलाई चिन्न सकिनन् । झरनाको भनाईमा उनले विपिनलाई ‘साक्षात कमलामाई’ नै देखेकी थिइन् । ‘एकदिन सेटमा उहाँका साथीहरु आउनुभएको थियो । विपिनकै छेउमा बसेर ‘विपिन खोई’ भनेर सोधिरहनु भएको थियो । मै पनि कति पटक त विपिन खोई भन्थें । किनकी उहाँलाई चिन्न जोकोहीलाई गाह्रै थियो’, झरना भन्छिन् ।

रोचक कुरा के छ भने विपिनले फिल्ममा निभाएका चरित्रलाई उनका परिवार र आफन्तले वास्ता गर्दैन रहेछन् । अर्थात् उनकै भनाईमा परिवारले पनि कलाकारका रुपमा विपिनलाई स्वीकारेकाले उनको चरित्रमा चासो दिँदैन रहेछन् । ‘मलाई उहाँहरुले यो बहुरुपिया हो भन्नुहुन्छ । यसले जे गरे पनि छुट छ भन्ने मैले बनाइसकेको छु । म बिरामी भएँ अथवा साइको भएँ भने पनि सायदै घरकाले यसले अहिले पनि अभिनय गरिरहेको छ भनेर पत्याउँदैनन् होला’, विपिन हाँस्दै भन्छन् ।

जोकोही पात्रलाई आफ्नो चरित्रबाट बाहिर निस्कन समय लाग्छ । अर्थात् चरित्रको ‘ह्याङओभर’ रहिरहन्छ । ‘कमलामाई’ चरित्रले विपिनलाई पनि त्यो अवस्थामा पु¥याएको थियो । फिल्ममा आफ्नो भागको सम्पूर्ण काम सकिएपछि विपिन अतिरिक्त दुई दिन जनकपुर नै बसेका रहेछन् । ‘कमलामाई चरित्रले मलाई एकोहोरो बनाइसकेको थियो । पारालैंगिक व्यवहार ममा देखिसकेको थियो । त्यसबाट मुक्त हुनका लागि मैले श्रीमतिलाई ढाँटेर दुई दिन अतिरिक्त जनकपुर बसें । तेस्रो दिनमात्र काठमाडौं आएँ’, उनी भन्छन् ।

विपिनलाई परिवारले ‘बहुरुपिया’ भन्छन् । किनकी उनले चरित्रमा त्यसलाई साबित गरिसकेका छन् । उनको अभिनय फरक र पृथक छ । उनले अभिनय गरेका ‘नाका’, ‘लालपुर्जा’, ‘हरि’, ‘सेल्फी किङ’ जस्ता फिल्मलाई हेर्ने हो भने विपिनमा विविधता पाइन्छ । 

विपिन ‘रियल’मा जे देखिन्छन् । ‘रिल’मा त्यो देखिँदैनन् । अर्थात् ‘रियल’मा ‘एक विपिन’ देखिन्छन् । तर ‘रिल’मा ‘विविध विपिन’ छन् । त्यहीकारण पनि विपिनलाई ‘एक विपिन, विविध विपिन’ भन्दा अन्याय पक्कै नहोला ।