अमेरिकामा अनमोल केसी उत्कृष्ट नायक

अमेरिका होस् या नेपाल होस् या अन्य कुनै पनि देशमा किन नहोस् । नेपाली फिल्मका नाममा हुने गरेका अवार्डहरुको औचित्य र अर्थ सकिएको छ भन्दा फरक पर्देन । किनकी, यी अवार्डहरुको न कुनै विश्वसनियता रहेको छ न कुनै महत्व । 

जो पुग्छ उसैले अवार्ड पाउँछ भन्ने भनाई हरेक जसो अवार्डमा चरितार्थ नै भएको देखिन्छ । 

‘ग्लोबल नेपाली फिल्म अवार्ड’को नाम दिएर हरेक बर्ष अमेरिकामा आयोजना हुने अवार्ड संस्करण यो बर्ष पनि आयोजना भयो । हरेक बर्ष आयोजना हुने यो अवार्डमा जाने अधिकांश कलाकार एकै हुन्छन् । जसको हातमा भिसा छ, उनै कलाकार अवार्डमा पुग्छन् । अवार्ड थाप्छन् अनी फर्किन्छन् । न त यो अवार्डले कुनै चर्चा पाउँछ, न त यसले नेपाली फिल्म क्षेत्रका लागि कुनै गतिलो योगदान नै गर्न सकेको छ । 

न्यूयोर्क शहरको क्वीन्स मेलरोज बलरुमा आयोजित अवार्ड समारोहमा पुगेका अधिकांश फिल्मीकर्मीको हात खाली भएन । 

नेपालमै आयोजना हुने अवार्ड समारोहमा अवार्ड पाउने पक्का नभएसम्म नपुग्ने नायक अनमोल केसी अमेरिका पुगे र अवार्ड थापे । उनले, पहिलो पटक यो अवार्ड थापेका भने होइनन् । जुन जुन समयमा उनी अमेरिका पुगेका छन्, सो बर्ष उनले यो अवार्ड थापेका छन् । 

अनमोललाई आयोजकले सन् २०२३ को ‘स्टार अफ दि एयर’को अवार्ड दियो । नायिकातर्फ भने स्वस्तिमा खड्काले यो अवार्ड जितेकी छिन् । उत्कृष्ट फिल्म ‘प्रेमगीत ३’लाई घोषित गरियो । 
गतबर्ष फिल्म ‘छड्के २’मा फितलो अभिनय गरेका अनमोलको यो फिल्म पनि बक्स अफिसमा सुपर फ्लप भयो । तर, उनै अनमोललाई आयोजकले उत्कृष्ट नायक घोषित गरिदियो । गतबर्ष रिलिज भएर सर्वाधिक आलोचना भोगेको फिल्म ‘प्रेमगीत ३’ उत्कृष्ट फिल्म हुँदा यसका निर्देशक सन्तोष सेनले उत्कृष्ट निर्देशकको अवार्ड जिते । 

यसबाट पनि यो अवार्ड कसरी बाँडियो भन्ने वुझ्न सकिन्छ । अवार्ड ग्रहण गर्नका लागि नायक अनमोल केसी पिता भुवन केसीको साथमा अमेरिका पुगेका थिए । 

अनमोलले उत्कृष्ट नायकको अवार्ड पाएपछि सामाजिक संजाल ट्रोल पनि सुरु भएको छ । आयोजकले पनि चर्चाको लोभमा अनमोललाई अवार्ड दिएको वुझ्न सकिन्छ । 

कृष्ण मल्ल जस्ता कलाकारको नेतृत्वमा रहेको संस्थाले गर्ने अवार्डको यो दयनीय अवस्था छ । अमेरिकामा नेपाली फिल्मको विकास र विस्तारको नारा दिदै आयोजना गरिने अवार्डहरुको दयनीय अवस्थाले सिंगो फिल्म क्षेत्रलाई नै गिज्जाइरहेको देख्न सकिन्छ ।