अनलका ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

युवा साहित्यकार अनल गौतमले एकै पटक दुई वटा पुस्तक सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक साहित्यिक कार्यक्रमका बीच साहित्यकार गौतमको उपन्यास ‘बार्दली’ तथा कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ एकै साथ लोकार्पण गरिएको हो ।
वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा.रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणा लगायतका व्यक्तित्वले ती पुस्तकहरु लोकार्पण गरेका हुन् ।
लोकार्पण समारोहमा लेखक गौतमलाई वधाई दिँदै कलाकार मदन कृष्ण श्रेष्ठले गौतमका उपन्यास तथा कथा संग्रह निकै नै रोचक र समयसामयिक लागेको बताए ।
कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ को समीक्षा गर्दै सञ्चारकर्मी महेश राणाले संग्रहमा समावेश ११ वटा कथामध्ये कुनै न कुनै एक कथाले पाठकले अवश्य छुने धारणा व्यक्त गरे ।
समालोचक डा.रामप्रसाद ज्ञवालीले ‘बार्दली’ उपन्यासको समालोचना गर्दै लेखक गौतमको सरल शैलीमा भावना व्यक्त गर्न शैलीको प्रशंसा गरे । उपन्यासले प्रेमको नयाँ परिभाषा व्यक्त गरेको भन्दै डा.ज्ञवालीले उपन्यासले नयाँ पुस्तालाई केही सन्देशसमेत दिने आशय व्यक्त गरे ।
कार्यक्रममा बोल्दै लेखक गौतमले पुस्तक लेख्न भन्दा सार्वजनिक गर्न कठिन भएको पुरानो अनुभव स्मरण गर्दै यसपटक ऐरावती प्रकाशन प्रालिसंगको सहकार्यमा दुई वटा पुस्तक पनि सहजै सार्वजनिक गर्न सकिएको बताए ।
ऐरावती प्रकाशन प्रालिका प्रमुख रामदेव पाण्डेको अध्यक्षतामा आयोजित समारोहमा पाण्डेले साहित्यका गौतमको लेखन शैलीको प्रशंसा गर्दै विषम परिस्थितिमा छोटो समयकै अन्तरालमा दुई पुस्तक प्रकाशित गरेको बताए ।
मुलतः आख्यान विधामा कलम चलाउन रुचाउने गौतमलाई यसमा पनि कथा तथा उपन्यासमा विशेष रुची छ ।
२०३८ साल असार १७ गते हेटौंडा–५, मकवानपुरमा जन्मिएका साहित्यकार गौतमले २०६४ सालमा ’शुभ प्रभात’ शीर्षकको हाईकु संग्रह प्रकाशन गर्दै औपचारिक साहित्यिक प्रकाशनको यात्रा प्रारम्भ गरेका हुन् । त्यसपछि साहित्यकार गौतमले २०६६ सालमा कविता संग्रह ‘चिनारी’ सार्वजनिक गरेका थिए ।
गौतमलाई साहित्यकारको रुपमा स्थापित गर्ने काम उनले २०७० मा प्रकाशित गरेको कथोपन्यास ‘घाट घाटका कथा’ ले गर्यो । यो कथोपन्यासमार्फत उनी पाठकको मन–मनमा बस्न सफल भएका थिए । २०७० सालमै गौतमले गीति संग्रह ’सरसी’ पनि प्रकाशित गरेका थिए ।
कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ मा के छ ?
कथा संग्रह ‘दाहिने हाते सिक्का र साइकल’ मा कुल ११ वटा कथाहरु समावेश गरिएको छ । यो कथा संग्रहमा फरक परिदृष्यका कथाहरु समावेश गरिएका छन् । यो कथा संग्रहमा साहित्यकार गौतमले बाल्यवस्थाका कथादेखि लिएर यौवन अवस्थाका मानवीय संवेदनामा आधारित कथाहरु समावेश छन् । विगत अनि वर्तमानका हाम्रै वरपरका भौगोलिक क्षेत्रभित्र बाल तथा युवा मनोविज्ञानलाई चित्रण गर्दै सामाजिक वस्तुस्थितिलाई समेत जोडेर लेखिएका कथाहरु जिवन्त प्रतित हुन्छन् । यो पुस्तकका केही कथाहरु अलि काल्पनिक झैँ लागेता पनि तिनको वर्णनले यथार्थता झल्काउने कोशिस भने गरेकै छन् ।
बार्दली’ मा युवा वर्गले भोगेका अनुभवहरु
लेखक गौतमको यसअघिको उपन्यास ‘लभ एट २५’ को दोश्रो भागको रुपमा लेखिएको उपन्यास हो– ‘बार्दली’ । यो उपन्यासमा एक जना संर्घषशील युवाको कथा हो । पहाडबाट काठमाडौं झरेको एउटा विद्यार्थी, युवाको मेहेनत, उसको जीवनमा आउने विविध उतार–चढाव तथा त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित यो उपन्यासले हालका युवा वर्गले भोगेका अनेकौं अनुभवहरु समेटिएको छ । ‘बार्दली’ उपन्यासमार्फत उपन्यासकार गौतमले थोरै रोमान्टिक, थोरै पीडाबोध अनि यथार्थपरक जीवन भोगाई झैँ लाग्ने शैलीमा लेखकले पाठकलाई आकर्षित गर्न खोजेको देखिएको छ ।

एडीबी-नेपाल सहकार्यका ५ दशकबारे फोटो प्रदर्शनी

हेम प्रभासको कवितासंंग्रह ‘साँझमा सेल्फी’ लोकार्पण

'डोटी साहित्य उत्सव-२०८१'बाट पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने

लोकगायक एवं संस्कृत विद् यज्ञराज उपाध्यायलाई यशश्वी प्राज्ञ पुरस्कार प्रदान

‘खुल्ला कविता प्रतियोगीता’ आयोजना हुने

सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण

पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्…

प्रतिक्रिया