फिल्मको एउटा गीतमा मात्र देखिएकी पूजाको पोष्टरमा ठूलो तस्वीर किन ?


नायिका पूजा शर्माले गतबर्ष रिलिज भएका ‘संझना विर्सना र सम्हालिन्छ कहिले मन’पछि नयाँ फिल्ममा काम गरेकी छैनन् । उनी, नायिका रेखा थापाको निर्माणमा ज्ञानेन्द्र देउजाले निर्देशन गर्न लागेको फिल्ममा काम गर्दैछिन् । तर, पूजाको नै मुख्य भूमिका रहेको जस्तो गरि प्रचार गरिएका फिल्महरु भने बजारमा आइरहेका छन् । 

गतबर्ष नायिका पूजा शर्मा र नायक पल शाहको तस्वीरलाई विशेष स्थान दिदै फिल्म ‘मनसँग मन’ रिलिज भयो । यो फिल्म भित्र पूजा र पलको एउटा गीतमा मात्र नृत्य  थियो । तर, फिल्मको प्रचारमा उनीहरुको अनुहारलाई खुबै प्रयोग गरियो । फिल्मले खासै व्यापार गर्न सकेन ।

तर, पूजा र पलको जोडीको चर्चा खुबै भयो । यी दुबैका फ्यानले फिल्ममा उनीहरुको विशेष भूमिका रहेको भन्दै टिकट काटे । तर, हलमा पुग्दा दर्शक झुक्किए । 

यो बर्ष पनि असारको २९ गतेबाट फिल्म ‘बद्रीबहादुर’ रिलिज हुँदैछ । शोभित बस्नेतको निर्देशनमा तयार भएको यो फिल्मको मुख्य कलाकारमा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ लगायत छन् । तर, फिल्मको पोष्टरमा नायक सलोन बस्नेत र नायिका पूजा शर्माको तस्वीरलाई विशेष स्थान दिइएको छ । 

यी दुबै फिल्ममा एउटा गीतमा मात्र छन् । तर, फिल्मको प्रचारमा यी दुइको टाउको पनि मज्जाले विकाउने तयारीमा निर्माणपक्ष छ । 

केही बर्ष अगाडि एउटा दृश्यमा देखिदा पनि नायक राजेश हमालको टाउको यसरी नै प्रयोग गरिन्थ्यो । अहिले, पूजालाई पनि निर्माणपक्षले एउटा गीतमा नचाएर फिल्ममा विशेष भूमिका भन्दै प्रचार गरिरहेको छ ।