वर्षाको फिल्मको कमाई ५० हजार पनि पुगेन

नायिका वर्षा सिवाकोटीले हिट फिल्म नदेखेको धेरै भैसक्यो । करिब ५ मिनेट जति भूमिका रहेको फिल्म ‘पशुपति प्रसाद’को क्रेडिटमै रमाइरहेकी वर्षाका फिल्मको व्यापार दयनीय छ । कतिपय फिल्म त हलमा लागेको समेत पत्तो नहुने अवस्था छ । व्यक्तिगत खबरले बढी मिडियामा छाउने यी नायिका फिल्मका कारण भने खासै चर्चामा आउन सकिनन् । 

उनै, वर्षाले अभिनय गरेको फिल्म ‘ए साथी सुन’ जेठको ५ गतेबाट हलमा लाग्यो । यो फिल्म हलमा लागेको समेत दर्शकले पत्तो पाएनन् । विना प्रचारप्रसार हलमा लागेको फिल्मको बिषयमा वर्षा पनि खासै बोलिनन् । 

यो फिल्मले बक्स अफिसमा यति दयनीय कमाई गरेको छ कि, निर्माताको हातमा लगानीको १ प्रतिशत रकम पनि फिर्ता हुने अवस्था छैन । 

यो फिल्मले बक्स अफिसमा ४६ हजारको ग्रस कलेक्शन गरेको विकास बोर्डको आँकडाले देखाएको छ । 

वर्षा सिवाकोटीको फिल्मको यो अवस्थाले पनि फिल्म नचलेको अवस्थामा निर्माताको लगानी कसरी वालुवामा पानी हुन्छ भन्ने प्रष्ट हुन्छ । 

गतबर्ष पनि रिलिज भएका धेरै फिल्मको अवस्था यस्तै दयनीय थियो । रोचक कुरा त के छ भने, वर्षाको फिल्मले ४६ हजारको ग्रस कलेक्शन गर्दै गर्दा वैशाख १ गतेबाट रिलिज भएको फिल्म ‘जारी’ले भने १६ करोड भन्दा बढीको ग्रस कलेक्शन गरेको छ ।