नेपाली आदिवासी जनजाति फिल्म फेस्टिभल स्कटल्यान्डमा

नेपाल स्कटल्यान्ड एसोसिएसन, चलचित्रकर्मी महासङ्घ, प्रदेश १ र फिल्म कल्चर सोसाइटीले गर्न लागेको ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डको राजधानी एडिनबर्गमा आयोजना हुने भएको छ । एसोसिएसनले मङ्गलवार कार्यक्रम गर्दै महोत्सव आगामी अगस्टमा आयोजना हुने जनाएको हो । 

आदिवासी फिल्मको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि महोत्सव आयोजना हुन लागेको आदिवासी जनजाति चलचित्र महासङ्घ, प्रदेश १ का अध्यक्ष ज्योतिराज राईले बताए । आदिवासी जनजाति फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने र निर्माणमा तीव्रता ल्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको राईले बताए । स्कटल्यान्डपछि अन्य मुलुकमा कार्यक्रम गरिने राईले बताए ।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष विजय डङ्गोल, हिमालयन सेन्टरका अध्यक्ष टीका लिम्बु, कलाकार सुवास थापा, निर्माता सागर सुवेदी, चलचित्र निर्देशक समाजका महासचिव तथा चलचित्रकर्मी महासङ्घ कोसी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानको सहभागिता थियो ।

महोत्सवमा आदिवासीका खाना, पहिरन, कला संस्कृतिसहित फिल्म प्रदर्शन गर्ने योजना छ । प्रदर्शन हुने फिल्मका कलाकार र फिल्मलाई पुरस्कृत गरिने भएको छ । अगस्टमा स्कटल्यान्डको एडिनबर्गमा विश्वको चर्चित महोत्सव ‘एडिनबर्ग महोत्सव’ आयोजना हुदैछ । सोही अवसर पारेर यो महोत्सव हुन लागेको हो ।