किशोर श्रेष्ठको सर्ट फिल्म ‘सर्भाइभल’ ले जित्यो कान्स फिल्म फेस्टिबलमा ‘बेस्ट कोभिड थिम’ अवार्ड

बिरिष्ठ फोटोग्राफर किशोर श्रेष्ठको डकुमेन्ट्री ‘सर्भाइभल लिभिङ थ्रु कोभिड’ले कान्स वर्ल्ड फिल्म फेस्टिबलमा ‘बेस्ट कोभिड थिम’ अवार्ड जितेको छ ।

विश्वभरबाट एक हजारभन्दा बढी फिल्ममध्ये उक्त डकुमेन्ट्रीले अवार्ड जितन सफल भएको हो । प्रतियोगिताको फाइनलमा ४० वटा फिल्म छनोटमा परेका थिए । उक्त डकुुमेन्ट्री बेस्ट एक्सपेरिमेन्टल फिल्म अवार्डमा समेत छनोट भएको थियो ।

कोभिडको विषयमा बनेको यो सर्ट फिल्म समाजप्रति आफूले गरेको सानो योगदान, कोभिड महामारीमा अग्रपंतिमा खट्ने मानिसहरूप्रति सम्मान र कोभिडले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली हो भनेर ड्रीम भिजनका फोटोग्राफर किशोर श्रेष्ठले बताएका छन् ।

कोभिड महामारीका बेला नेपालीहरूले भोगेको समस्या र बाँच्नका लागि गरेको संघर्षलाई डकुुमेन्ट्रीमा खिचिएको थियो । साथै, स्वास्थ्य सचेतना र सजगतालाई जोड दिएर फिल्म बनाइएको थियो ।

संवाद प्रयोग नगरी संगीत र दृश्यको मिश्रणले बनेको यो हरेक भाषा भाषी, लिङ्गले बुझ्ने गरी निर्माण भएको फिल्म हो । फिल्मका कलाकार सबै नयाँ र साइकल चलाउने समूहसँग जोडिएका छन् ।

फिल्मको छायाङ्कन र संगीत किशोर श्रेष्ठका छोरा सक्रिय श्रेष्ठले गरेका हुन् । फिल्मको निर्देशन तथा निर्माता अफ्जल खानले गरेका हुन् ।