‘ए मेरो हजुर ५’बाट संगीतमा खेम सेन्चुरीको फिल्मी डेब्यू

संगीतकार खेम सेञ्चुरीले फिल्म ‘ए मेरो हजुर ५’मा संगीत दिने भएका छन् । उनले, फिल्म ‘ए मेरो हजुर ५’बाट आफ्नो  फिल्मी डेब्यू गर्न लागेका हुन् ।

सामाजिक संजालमा फोटो शेयर गर्दै उनले लेखेका छन्–‘जीवनमा सबैखाले चुनौती स्वीकार गर्दै अघि बढियो । यो क्रम जारी नै छ । फलको आशा नराखी कर्ममा विश्वास गर्दा यहाँहरूको अपार मायाले एकपछि अर्को सिडी उक्लने प्रयास गर्दैछु । मेरो सांगीतिक जीवन पहिलो पटक नेपाली फिल्मसँग पनि जोडिने भएको छ ।’

सुहाना इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायांकन केही महिनामै सुरु हुनेछ । फिल्मलाई झरना थापाले निर्देशन गर्दैछिन् । सुनिल कुमार थापाको लगानी रहने फिल्मको स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ ।

फिल्ममा नायिका सुहाना थापाले काम गर्ने पक्का भएको छ । नायक भने केही दिनमै फाइनल हुने निर्माणपक्षले जानकारी दिएको छ ।