सय दिनमा सय रुपैयाँमा ‘सारङ्गी’

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा ऐतिहासिक रेकर्ड राख्यो । फिल्मले बक्स अफिसमा ४८ करोड भन्दा माथिको कमाई गरेको छ ।

यो फिल्म आजबाट सय दिनमा प्रवेश गरेको छ । कार्तिकको १५ गतेबाट रिलिजमा आएको फिल्मले आज विभिन्न हलमा सय दिन पुरा गरेको हो । 

नेपाली फिल्मका लागि सय दिनको प्रदर्शन दुर्लभ बनिरहेको छ । तर, बक्स अफिससँगै यो फिल्मले एउटा दुर्लभ आँकडालाई समेत छोएको छ । 

यो फिल्म सय दिनमा प्रवेश गरेको अवसरमा दर्शकले सय रुपैयाँमा नै फिल्म हेर्न पाउने भएका छन् । 

विनोद पौडेलको निर्माणमा तयार भएको यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा विजय बराल, मुकुन भुषाल, प्रकाश सपुत, अन्जना बराइलीको मुख्य भूमिका छ । 

यो फिल्मको कथावस्तुलाई दर्शकले निकै मन पराएका थिए । यो वर्ष सय दिन मनाउने पहिलो फिल्म पनि यही फिल्म बनेको छ ।

यो फिल्मले विश्व बजारबाट ७५ करोडको ग्रस कलेक्शन गरेको निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा उल्लेख छ ।