‘एक्टर–टेक १’को रिलिज रोकिएपछि विकास बोर्डप्रति आक्रोशित फिल्मीकर्मी
चलचित्र विकास बोर्डले अनुमति दिएको, सेन्सर पनि भएको फिल्म ‘एक्टर–टेक १’ आजबाट रिलिजमा आउनुपर्ने हो । तर, जिल्ला अदालत काठमाडौंले मंगलबार अन्तरिम आदेश जारी गर्दै फिल्मको रिलिज स्थगीत गर्न आदेश दियो । फिल्म ‘एक्टर’का निर्माताले दायर गरेको मुद्दाको आधारमा अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । मुद्दामा चलचित्र विकास बोर्डलाई समेत विपक्षी बनाइएको छ ।
रिलिजको एक दिन अगाडि फिल्म रोकिँदा निर्माता मर्कामा परेका छन् । ३ करोड भन्दा माथिको बजेट लागेको यो फिल्म रोकिँदा निर्माताको लगानीको जोखिम पनि बढेको छ ।
फिल्म रोकिसँगै यसका निर्देशक राजन भुसालले ‘एक्टर टेक १ लाई न्याय चाहियो’ भन्दै लेखे । यसपछि, यो बिषयमा थुप्रै फिल्मीकर्मीले आवाज उठाएका छन् । तर, अधिकांशको आक्रोश फिल्मको नाम दर्ता गरेर निर्माणको इजाजत दिने चलचित्र विकास बोर्डप्रति देखिएको छ ।
फिल्मका कलाकार तथा निर्देशक निश्चल बस्नेत लेख्छन्–‘नाम नै एउटै भएको कुरा हो भने नाम दर्ता गर्ने विकास बोर्ड जवाफदेही हुनुपर्छ । चलचित्र निर्माण गर्ने इजाजत र प्रदर्शन गर्ने इजाजतपत्र राज्यका निकायले दिने हो । इजाजत पाइसकेपछि निर्माण कम्पनीले विना कुनै रोकावट फिल्म निर्माण र सेन्सर भएपछि प्रदर्शन गर्न कसैले पनि रोक्न मिल्दैन । समस्या नै भएको हो भने, इजाजत दिने अध्यक्षलाई स्पष्टीकरण र मुद्दा लाग्नुपर्ने विकास बोर्डलाई हो कि चलचित्रलाई ?’
एक्टर टेक १ को प्रदर्शन रोकियो भने त्यसको क्षतिपूर्तिको मुद्दा एक्टर टेक १ को टिमले विकास बोर्डलाई र उजुरी गर्नेलाई त गर्ने होला नी हैन ?’
यही बिषयमा कलाकार तथा निर्माता दीपकराज गिरीको दुई वटा स्टाटस आएका छन् । उनले लेखेका छन्–‘हरेक दिन फिल्म बनाउन नयाँ नयाँ निर्माता एअरपोर्टमा । फिल्म रिलिज चाही कहाँ गर्ने हलमा हो कि कोर्टमा ?’ उनै, दीपकराज फेरि लेख्छन्–‘उस्तै नाम चाहिए पर्यायवाची शब्द खोज्नुपर्छ । एउटै नाममा पछाडि फुर्का गाँसेर, पुच्छर झुण्डाएर नाम राख्ने परम्परा पनि बन्द गरौं । अहिलेलाई एक्टर टेक १ लाई साथ ।’
यो फिल्मको रिलिज रोकिएपछि अधिकांश फिल्मीकर्मीले यो फिल्मलाई न्याय दिन आग्रह गरेका छन् । फिल्म रिलिजको एक दिन अगाडि रोकिँदा त्यसले पार्ने आर्थिक र मानसिक असरको बारेमा पनि अधिकांशले आवाज उठाएका छन् ।
केही फिल्मीकर्मीले भने ‘एक्टर टेक १ र एक्टर’ दुवैलाई न्याय दिनुपर्ने उल्लेख गरेका छन् । यस्तै, केहीले भने यत्रा संघसंस्था हुँदा पनि किन यस्तो समस्या आयो भनेर फेसबुकमा लेखेका छन् ।
अदालतमा पुगिसकेको मुद्दा भएकाले अब माघको २२ गते आउने आदेश पर्खिनुको विकल्प छैन । तर, आजबाट रिलिजमा आउन लागेको र बूकिङ समेत खुलिसकेको फिल्म रोकिँदा निर्माता, कलाकार सबै मारमा परेका छन् ।
- #nepali movie
- #nepali movie
- #bollywood
- #music video
- #durgesh thapa
- #fashion show
- #bijaya baral
- #Kunsang Bomjan
- #bimaalraj chetri
प्रतिक्रिया