विवादमा परेका खेमलाई शिवको सुझाव–‘ अरु कोहि जस्तो बन्ने चेष्टा नगर्नु’

‘द भ्वाइस अफ नेपाल’को नयाँ सिजनमा कोच बनेका गायक खेम सेन्चुरी आलोचित छन् । उनले, खुट्टाले बर्जर थिचेपछि सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ । उसो त, यसअघिका केही कोचले पनि यस्तो कार्य नगरेका होइनन् । तर, यसपटक खेमको आलोचना भने बढी भइरहेको छ । अरूले गरे, खेमले गर्न किन नहुने भन्ने टिप्पणी पनि तर्कसङ्गत छैन । 

आलोचनाको घेरामा परेका सेञ्चुरीलाई गायक शिव परियारले सामाजिक संजालबाट सुझाव दिएका छन् । उनले, सेञ्चुरीलाई अरु जस्तै हुने प्रयास नगर्न आग्रह गरेका छन् ।

शिव लेख्छन्–‘खेम भाई भिडियो हेर्दा अलिकति अस्वाभाविक मलाई पनि लाग्यो हैं । भविष्यमा आफूलाई छाडेर अरु कोहि जस्तो बन्ने चेष्टा नगुर्न । मौलिक खेम सेन्चुरी नै नेपाली लोक संगीतलाई प्रिय अनि आवश्यक छ । आफूलाई छोडेर अरु जस्तो बन्ने प्रयास गर्दा प्राय नकारात्मक अवस्थाहरू भोग्नुपर्ने हुन्छ । भाइको जत्तिको कलाकारले आगामी दिनमा बिचार गर्नुपर्छ ।’

शिवले यसपटक खेमको हकमा पनि जात र बर्गमाथि नै प्रहार भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले लेखेका छन्–‘सदियौंकालदेखि संगीतमा जात नै खोजिरहेका, संगीतमा जान नै सुनिरहेका र आजपनि संगीतमा जात नै खोज्ने र जात नै सुन्न चाहनेहरूका निकृष्ट अवशेषहरू नै हुन् आजको युगमा पनि सामाजिक संजालमा स्वभाविक वैचारिक संवाद वा विरोधको सट्टा बारम्बार जात जात भनेर जात मै जोडेर अत्यन्त नीच र निकृष्ट भाषा प्रयोग गरेर कलाकारलाई गाली गर्नेहरु । यिनीहरुको संगीतका श्रोता भन्दा पनि जातका श्रोता र हिमायतीहरु हुन् । संगीतको वास्तविक विकासमा यस्तो सोच र विचार राख्नेहरू भएपनि नभएपनि संगीत जगतलाई खासै फरक पर्दैन ।’