दयाको पछि लाग्दा जितुलाई भएन फाइदा
केही समय अगाडि फिल्म ‘कार्साङ्’को प्रचारका क्रममा कलाकार जितु नेपालले भनेका थिए–‘दयाहाङ राई जस्ता स्टार कलाकारको पछि लाग्न पाउनु त राम्रो कुरा हो नि ।’
विजय बरालपछि जितु नेपाल दयाको पछि लागेका हुन् भन्ने प्रश्नमा उनले यो जवाफ दिएका थिए । ‘छक्का पन्जा’ टिमबाट बाहिरिएपछि ‘ह्यारी कि प्यारी’मा काम गरेका जितुलाई फाइदा भएन । यो फिल्म असफल भएपछि उनको करिअर के होला भन्ने भयो ।
तर, दशैंमा ‘छक्का पन्जा ५’सँग जुध्दा केही चर्चा भएर ‘ज्वाइँ साब’ले जितुलाई खुशी दियो । तर, यो फिल्मले दिएको खुशी उनका लागि ३ महिना पनि टिकेन । फिल्म ‘कार्साङ्’ बक्स अफिसमा नराम्रोसँग पछारिएपछि जितुलाई चल्न गाह्रो हुने देखिएको छ ।
यो फिल्मको प्रचारमा दया भन्दा बढी उनी नै दौडिएका थिए । फिल्ममा उनको भूमिकालाई पनि दर्शकले मन पराउँछन् कि भन्ने अपेक्षा धेरै थियो । तर, यसपटक जितु असफल भए । एकपछि अर्को फिल्म असफल भएपछि जितुलाई टिम विना चल्न गाह्रो हुने देखिएको छ ।
उनी आफैले पनि फिल्म निर्देशन गर्न लागेको चर्चा छ । यस्तो अवस्थामा जितुले एकपटक गम्भीर भएर सोच्नुपर्ने अवस्था देखिएको छ । किनकी, उनको अनुहार नै हेरेर हलमा दर्शक नआएको पक्का हो ।
प्रतिक्रिया