‘पूर्ण बहादुरको सारङ्गी’बाट विजयलाई नाफाको ५ प्रतिशत
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’बाट कलाकार विजय बरालले ह्यान्डसम रकम बुझ्ने निश्चित भएको छ । यो फिल्ममा विजयले नाफाको ५ प्रतिशतमा काम गरेका थिए । विजयले नाफाको ५ प्रतिशतमा काम गर्दा मात्र पनि उनको हातमा ९० देखि १ करोड हात पर्ने देखिएको छ ।
फिल्मका निर्माता विनोद पौडेलले यो कुराको पुष्टि गरेका छन् । पौडेलले केही सातामै विजयलाई यो रकम हस्तान्तरण गर्ने बताएका छन् ।
यो फिल्मको टिममा आएको असमझदारीका कारण केही समस्या परेको थियो । तर, अब त्यो समस्या हल भएको वुझिएको छ । वितरकबाट केही दिनमै निर्माताको हातमा पैसा आउने छ ।
यसपछि भने विजयले आफ्नो नाफा लिनेछन् । यो फिल्मले बक्स अफिसमा करिब ५० करोडको ग्रस कलेक्शन गरेको थियो । निर्माताको हातमा १८ देखि १९ करोड हात पर्ने देखिएको छ । जसबाट विजयले ५ प्रतिशत बुझ्नेछन् ।
नेपालमा थुप्रै स्टार कलाकारहरू प्रतिशतमा काम गर्न मान्दैनन् । जसकाकारण, फिल्मले बम्पर कमाउँदा पनि उनीहरुले नाफाको प्रतिशत पाउँदैनन् । घाटा हुँदा पनि उनीहरुले कुनै रकम भुक्तानी गर्नुपर्दैन । तर, स्टार कलाकारहरूले नाफाको प्रतिशतमा काम गर्नुपर्छ भन्ने स्वर नउठेका होइनन् ।
सरोज पौडेलको निर्देशनमा बनेको यो फिल्मले बक्स अफिसमा ऐतिहासिक रेकर्ड राखेको थियो । फिल्ममा विजय बराल, मुकुन भुसाल, प्रकाश सपुत, अन्जना बराइली लगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया