खुट्टाले ‘बर्जर’ थिचेपछि खेम सेन्चुरीको आलोचना

‘द भ्वाइस अफ नेपाल–६’ सुरु भइसकेको छ । अहिले ‘ब्लाइन्ड अडिसन’ चलिरहेको छ । यसपटक कोचहरुमा केही परिवर्तन भएका छन् । गायक खेम सेन्चुरी पनि यसपटक कोचको रुपमा यो रियालिटी शोमा प्रवेश गरेका छन् । 

तर, यतिबेला उनको चर्को आलोचना भइरहेको छ । सामाजिक संजालमा खेम सेन्चुरीले एउटा गतिविधि आलोचित भइरहेको हो । 

यो शोको दोस्रो भागमा गायक सेञ्चुरीले इन्द्रकला राईले गीत गाइसकेपछि उत्साहित हुँदै ‘बर्जर’लाई खुट्टाले थिचेका छन् । सबै जसो कोचले हातले ‘बर्जर’ थिचिरहेको समयमा सेन्चुरी भने उत्साहित हुँदै कुर्सीमा उभिन्छन् र ‘बर्जर’ खुट्टाले थिच्छन् । 

यो शोको मुख्य आकर्षण नै ‘बर्जर राउण्ड’ हो । सेञ्चुरीले ‘बर्जर’को इज्जत राख्न नसकेको भन्दै आलोचना भइरहेको हो । 

पहिलो पटक कोच बनेका कारण पनि खेमले आफूलाई सम्हाल्न नसकेको देखिन्छ । उनी भित्र भित्र बढी उत्साहित देखिएका कारण ‘बर्जर’लाई खुट्टाले थिच्न पुगेका हुन् । उसो त यस भन्दा अगाडिका शोमा पनि कोचहरुबाट यस्ता हर्कत नभएका होइनन् । 

अबका दिनमा, खेमसँगै अन्य कोचहरुले पनि यो बिषयमा ध्यान दिन जरुरी छ । संगीतका सर्जकले नै यस्ता हर्कत गर्न थाले भने शोको गरिमामाथि नै प्रश्न उठ्ने निश्चित छ ।