स्थानीय कलाकारलाई राखेर तयार गरिएको 'वसन्त' को गीत

 फिल्म वसन्तको पहिलो गीत 'साँझ पर्‍यो झमक्क' को  कोरसमा १ सय जना हाराहारीको नृत्य देख्न सकिन्छ। कोरसमा नाच्ने यी सबै कलाकार स्थानीय स्तरबाट खोजिएका हुन्। स्थानीय कलाकारहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने ध्येयले यसो गरिएको 'वसन्त' का प्रोजेक्ट हेड दिल शिरीषले बताएका छन् । उनका अनुसार पृष्ठभूमिमा नृत्य गर्नेहरू बागलुङ, पर्वत, म्याग्दी र गुल्मीबाट ल्याइएका हुन्। 

'वसन्त' टिमको योजना बागलुङ काठेखोला गाउँपालिकाभित्रकै स्थानीय प्रतिभालाई लिने थियो। त्यसका लागि प्रकाश सपुतसहित उनी केही विद्यालयमा पुगेका थिए। यद्यपि, त्यहाँबाट मात्रै सङ्ख्या नपुगेपछि छिमेकी जिल्लाहरूबाट झिकाइएको शिरीषले बताए। 

यो गीतलाई मौसम हिमालीले कोरियोग्राफी गरेका हुन्। गीतमा प्रकाशसँगै शान्ति श्री परियारको स्वर छ। प्रकाशकै सङ्गीत रहेको गीतका एरेन्जर सुदीप सागर हुन्। भिडियोमा प्रकाश सँगै स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्ग बहादुर पुन लगायत फिचर्ड छन्।

गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित फिल्म 'वसन्त' चैत २२ गतेदेखि प्रदर्शनमा आउँदैन।

गलबन्दी प्रोडक्सनबाट बनेको वसन्तको कथा र सङ्गीत पनि प्रकाशकै हो। मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन् निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा वीरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन्। मुख्य सह–निर्देशन सुनिल विकको छ।  प्रकाश सपुत निर्देशित फिल्म 'वसन्त' चैत २२ गतेदेखि प्रदर्शनमा आउँदैछ।