‘महाभोज’को शुभसाइत, पोखरामा हुनेछ छायांकन

फिल्म ‘महाभोज’को शुभसाइत गर्दै विशेष पूजा गरिएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर यो फिल्मको विशेष पूजा गरिएको हो । 

विशेष पूजामा फिल्मका मुख्य कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत्त, बसुन्धारा भुसाल, मोहन निरौला, वुद्दि तामाङ, कमलमणि नेपाल, पुस्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको उपस्थिति थियो । 

यो फिल्मको छायांकन ४५ दिनसम्म पोखराका आसपासका क्षेत्रमा हुनेछ । यसका लागि बुधबार यसको टिम पोखरा प्रवेश गर्नेछ । यो फिल्मको कथाले समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्ध बोल्ने बताइएको छ । देशमा भइरहेको प्रणालीविहिन कामहरूको विरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, समाजले कस्तो रुप लिन्छ भन्ने कथा यो फिल्ममा भन्ने निर्माता हिमाल कडरियाले जानकारी दिए । 

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा हिमाल कडरियाको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माताहरू किरण नेपाली र सुदिप ढकाल हुन् । विकास सुवेदीको लेखन रहने फिल्ममा राजेश श्रेष्ठको छायांकन रहनेछ । यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन् ।