फिल्म बनाउँदा आफ्ना र पराई चिन्न पाएको सलोनको तर्क

नायक सलोन बस्नेतले पहिलो पटक निर्माण गरेको फिल्म ‘रंगी’को आज गीत रिलिज भयो । सो कार्यक्रममा सलोनले आफूले फिल्म बनाउँदा आफ्ना र पराई चिन्न पाएको बताए । उनले कसैको पनि नाम त लिएनन्, तर फिल्म बनाउँदा को नजिकको र को पराई रहेछ भनेर चिन्न पाएको बताए । 

सलोनले अगाडि भने–‘फिल्म बनाउँदा धेरै साथ र सहयोग चाहिने रहेछ । हो, त्यो बेलामा धेरै साथ र सहयोगको आवश्यकता पर्ने रहेछ । तर, त्यो बेलामा मलाई निकै गाह्रो भएको थियो । मैले परिवारबाट साथ पाएको छु ।’

सलोनले यो भिन्नता साथीहरूमा पनि हुने बताए । साथी भाइहरूमा पनि आफूले फिल्म बनाउँदा भिन्नता देखेको सुनाए । 

लामो समयदेखि सलोन सलिना फिल्मस्बाट फिल्म बनाउँदै आएका सलोनले यसपटक नयाँ ब्यानर सुरु गरेका छन् । आखिर, किन सलोन सलिना फिल्मस् छाडेर उनले नयाँ ब्यानर सुरु गरेका हुन् त ?

उनले भने–‘जब मेरो घरमा सानो परीको आगमन भयो । त्यसपछि ममा धेरै परिवर्तन आयो । यसपछि नयाँ सलोन जन्मिए जस्तै भएको थियो । यसपछि, नयाँ सुरुवात गरौं भन्ने सोच पनि आयो । फेरि मलाई नयाँ व्यानरमा काम गर्न मलाई सुझाव मेरो ड्याड नै दिनुभएको हो । सबै कुरा छोरीबाट नै सुरु भएको छ । यसैले, मैले छोरीको नाममा नै ब्यानर स्थापित गरेको हुँ ।’