अरु ‘पाटे’ होलान्, ‘बाघ निर्माता’ मै हुँः छविराज ओझा
नेपाली फिल्म क्षेत्रमा कलाकारको स्टारडम मात्र होइन, निर्माताहरुको दबदबा पनि समय अनुसार फेरिन्छ ।
नेपाली फिल्ममा लामो समय निर्माता छविराज ओझाको दबदबा रह्यो । छविराज ओझाले बनाएका अधिकांश फिल्मले दर्शकको उच्च साथ पाए । नेपालमा स्टार कलाकारहरू जन्माउने श्रेय पनि छविलाई नै जान्छ । राजेश हमालदेखि रेखा थापा हुँदै शिल्पा पोखरेलसम्म उनकै ब्यानरबाट जन्मिए ।
यसैले, छविलाई ‘बाघ निर्माता’ पनि भनिन्छ । तर, अहिले बाघ सेलाएका छन् । उनले, फिल्म नबनाएको पनि केही बर्ष भयो । यो बिचमा नेपाली फिल्म क्षेत्रमा थुप्रै निर्माताहरुको आगमन भइसकेको छ ।
पछिल्लो समय दीपकराज गिरी, रामबाबु गुरुङ जस्ता निर्माताहरुको दबदबा फिल्म क्षेत्रमा छ । काठमाडौंको एक कार्यक्रममा पुगेका छविलाई हामीले सोध्यौँ, अहिलेको ‘बाघ निर्माता’ को हो ? छविले यो प्रश्नमा रोचक जवाफ दिए–‘बाघ कहिले बुढो हुँदैन । अहिलेका थुप्रै निर्माताहरू पाटे बाघ होलान् । तर, शिकार गर्ने बाघ मै हुँ ।’
छविले अहिले पनि फिल्म क्षेत्रको ‘बाघ’ आफू नै भएको दाबी गरे । उनले, फिल्म क्षेत्रमा चर्चामा रहेका थुप्रै निर्माताहरूलाई ‘पाटे वा अन्य बाघ’को संज्ञा दिएका छन् ।
छवि चाँडै नै नयाँ फिल्म बनाउने तयारीमा आफू रहेको पनि बताउँछन् । हाल, उनी एफडी कम्पनी हाँकेर बसिरहेका छन् ।
प्रतिक्रिया