‘कार्साङ्’ले प्रिमियरमा कस्तो पायो प्रतिक्रिया ?
भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘कार्साङ’को काठमाडौंमा प्रिमियर गरिएको छ । बुधबार गरिएको प्रिमियरमा फिल्मीकर्मीबाट उत्साहजनक प्रतिक्रिया पाएपछि यसको निर्माणपक्ष पनि खुशी देखिएको छ । एउटा मौलिक फिल्म बनेको भन्दै अधिकांशले प्रशंसा गरेका थिए ।
फिल्मको प्रिमियरमा मुख्य नायक दयाहाङ राई भने उपस्थित भएनन् । शेर्पा समुदायको मौलिक कथा भन्ने फिल्मले उनीहरुको संस्कार र संस्कृति देखाउन कुनै पनि कसर बाँकी नराखेको फिल्मीकर्मीहरुले बताए ।
फिल्म हेर्नका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के खनाल, निर्माता तथा निर्देशक अशोक शर्मा, कलाकार केदार घिमिरे, किरण केसी, अनुप बराल, मनिष राउत, गायक कमल खत्री, गायिका मेलिना मैनाली लगायत हल पुगेका थिए । दीपा र केदारले फिल्मको कथावस्तुसँग कलाकार जितु नेपालको कामको पनि प्रशंसा गरे ।
जितु नेपालको अभिनयको दायरा झनै फराकिलो बन्दै गएको भन्दै केदारले तारिफ गरेका थिए । अभाव र दुःखमा बाँच्ने व्यक्तिलाई आफ्नो संस्कृति जोगाउन कति कठिन छ भन्ने कथा यसले भन्छ । साथमा, यसले प्रेमको कुनै पनि दायरा हुँदैन भन्ने कथा पनि बोलेको छ ।
यो फिल्ममा दयाको साथमा सिर्जना निङलेखु, जितु नेपाल, दिया मास्के, वुद्दि तामाङ, श्रृष्टी गौतम लगायतका कलाकारहरुको अभिनय छ । यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा यो फिल्म बनेको हो ।
प्रतिक्रिया