ओटिटी प्लेटफर्म ‘एमएसएम’को चर्चा

नेपाली फिल्म क्षेत्रले विगत केही बर्षदेखि एउटा राम्रो ओटिटी प्लेटफर्मको खोजी गरिरहेको थियो । अझ, कोरोनाका कारण भएको लकडाउनपछि यसको चर्चा ह्वात्तै चुलिएको थियो । नेपालमा केही ओटिटी प्लेटफर्म नखुलेका होइनन् । तर, तिनले दर्शकको माग सम्बोधन गर्न सकेनन् । 

तर, दशैंमा सार्वजनिक गरिएको ओटिटी प्लेटफर्म ‘एमएसएम’ले भने छोटो समयमा नै लोकप्रियता हासिल गरेको छ । नयाँ नयाँ नेपाली फिल्म हरेक साता सार्वजनिक हुन थालेपछि दर्शक यो एपमा लोभिएका हुन् । 

३ लाख भन्दा बढी डाउनलोड भइसकेको यो एपमा ‘महाजात्रा, दिमाग खराब, खुस्मा, फर्की फर्की’ जस्ता फिल्म सार्वजनिक भइसकेका छन् । 

यो एप रिलिज हुँदै गर्दा निर्देशक निश्चल बस्नेतले आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली’ले शो नपाएर हैरान थिए । तर, उनले उक्त समयमा हलबाट फिल्म निकालेर यही एपमा सार्वजनिक गर्ने बोल्ड निर्णय लिएका थिए । जसले उनलाई राम्रो आम्दानीको बाटो खोलिदिएको थियो ।

नेपाली फिल्मका मेकरहरु अहिले पनि युट्युबबाट आउने केही रकममा लोभिएका छन् । तर, युट्युबमा दर्शकले निःशुल्क फिल्म हेर्न पाउँछन् । विश्वका अधिकांश देशका मेकरहरुले युट्युबमा फिल्म रिलिज गर्न छाडेको अवस्था छ । नेपाली फिल्मका निर्माताले पनि अब यो बिषयमा सोच्नुपर्छ । 

यो एपको विशेषता के छ भने, यो मोबाइल, गुगल टीभी, एन्ड्रोइड टीभी, एमाजोन फिल्म स्टिकमा उपलब्ध छ । यस्तै, यो सामसुङ टीभी एप, एलजी टीभी एप, एप्पल टीभी एप, हिसेन्स टीभी एप, भिजियो टीभी एप, रोकु टीभी एप तथा कम्प्युटरबाट पनि हेर्न सकिन्छ । 

यसैले, हरेक वर्गका दर्शकले आफूले रोजेको नयाँ नयाँ फिल्म सहजै हेर्न पाउने देखिएको छ । यसले, एमएसएम एपप्रति दर्शकको चाहना अझै बढाएको छ ।