‘कुस्ती’मा धिरज र मिरुनाका लागि आइआइएफटीका विद्यार्थीले पहिरन डिजाइन गर्ने

कलाकार वुद्दि तामाङले फिल्म ‘कुस्ती’को निर्माण गर्दैछन् । अब, यो फिल्मको भेषभुषा पार्टनरको रुपमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन जोडिएको छ । मंगलबार फिल्मको निर्माण टिम र स्कुलका प्रतिनिधिबीच संझौता भएको छ । अनिल योञ्जनको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा नायक धिरज मगर र नायिका मिरुना मगरले काम गर्दैछन् ।

यी दुई कलाकारले लगाउने पहिरनको डिजाइन स्कुलका २४ विद्यार्थीले गर्नेछन् । कार्यक्रममा नायक धिरज मगरले आइआइएफटीसँग पहिलोपटक सहकार्य गर्न पाउँदा खुशी लागेको तर्क गरे । धिरजले आफ्नो पहिरनबारे विमर्श गर्दै केही पोशाकको ट्रायलसमेत गरेका छन् । 

यो फिल्मको पोस्टर सार्वजनिक भइसकेको छ । जसको कलर र कलाकारको स्वभावका कारण चर्चा भएको थियो । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुन लागेको यो फिल्मले एक जोडीको प्रेम कथा भन्नेछ । छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको कथा यो फिल्मले भन्नेछ ।

यो फिल्मको छायांकन फागुनबाट सुरु हुँदैछ । फिल्मलाई आउँदो बर्षको भदौमा रिलिज गर्ने योजना निर्माणपक्षको छ ।