जहाँ छायांकन हुन्छ, त्यहीबाट लिक हुन्छ ‘जेरीः अन टप’का दृश्य
सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको फिल्म ‘जेरीः अन टप’को छायांकन सुरु भएको लामै समय भयो । बारम्बारको ब्रेक र जटिल दृश्य खिच्नुपर्ने भएकाले पनि काम लम्बिएको निर्माणपक्षले बताएको छ ।
फिल्मको हाल त्रिभुवन विमानस्थलमा दृश्यको छायांकन भइरहेको छ । तर, यो फिल्मको दृश्यहरु छायांकन सुरु भएदेखि नै सामाजिक संजालमा छ्याप्तछ्याप्ती छन् । यसको निर्माणपक्षले पनि यसमा खासै कडाइ गरेको पाइँदैन ।
लिक हुन्छ भने के गर्नु त भन्ने सोचमा यसको टिम अगाडि बढेको देखिन्छ । लुक्लामा छायांकन हुँदा नायक अनमोल केसी, नायिकाद्धय जसिता गुरुङ र आँचल शर्मा, कलाकार केदार घिमिरेका दृश्यहरु छ्याप्तछ्याप्ती सामाजिक संजालमा छाएका थिए । यसपछि, फिल्मको छायांकन काठमाडौंको एक होटलमा गरियो । त्यहाँबाट पनि दृश्य बाहिरियो ।
अब, विमानस्थलमा फिल्मको छायांकन भइरहँदा हरेक दृश्यहरु बाहिरिएका छन् । विशेषगरि, विदेशबाट नेपाल फर्किएका अनमोल केसी अर्थात् जेरीलाई स्वागत गर्नका लागि गरिएको तामझामका दृश्य सबै टिकटक भरी भाइरल छन् ।
यसले, पनि फिल्मको सुरुवात कसरी हुन्छ, कस्ता कस्ता दृश्य छन्, कलाकारको लुक्स के छ भन्ने अधिकांश जानकारी दर्शकलाई भइरहेको छ । निर्माणपक्षले पनि यसरी दृश्य बाहिरिदा फिल्मलाई फाइदा नै हुने देखेर होला केही बोलेको छैन ।
सरोज न्यौपानेको निर्माणमा तयार भइरहेको यो फिल्मलाई आउँदो बर्षको जेठमा रिलिज गर्ने तयारी छ ।
प्रतिक्रिया