डिसेम्बर ६ मा रिलिज हुने भयो ‘पुष्पा २’

दशैंमा रिलिज हुने चर्चामा बीच साउथको सर्वाधिक प्रतीक्षित फिल्म ‘पुष्पा २’ डिसेम्बरमा रिलिज हुने भएको छ । यो फिल्मलाई डिसेम्बर ६ तारिखबाट विश्व बजारमा रिलिज गरिने निर्माणपक्षले विज्ञप्ति सार्वजनिक गर्दै उल्लेख गरेको छ ।

अगस्ट १५ तारिखबाट पोष्टपोन्ड भएको यो फिल्म दशैंमा आउने चर्चा थियो । फिल्मको रिलिज मिति पोष्टपोन्ड भएपछि नेपाली फिल्म क्षेत्रमा पनि यसले राम्रै तरंग ल्यायो । फिल्म दशैंमा रिलिज हुने हल्ला चलेपछि झनै नेपाली फिल्मका निर्माताले अब के गर्छन् भन्ने चर्चा पनि भयो । 

तर, फिल्म डिसेम्बर ६ अर्थात् मंसिरको २१ गतेबाट रिलिज हुने भएपछि नेपाली निर्मातालाई निकै सहज भएको छ । 

फिल्मको मेकिङ र कथावस्तुमा कुनै पनि संझौता नगरिएकाले रिलिज मिति केही समय पछि धकेलिएको निर्माणपक्षको भनाई छ । 

अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित यो फिल्मले बक्स अफिसमा हजार करोड माथिको व्यापार गर्ने प्रक्षेपण गरिएको छ । नेपाली बजारमा यो फिल्म खरिद गर्न वितरकले ५ करोड भारू खर्च गर्नुपर्ने भएको छ ।