१६ करोड नजिक ‘महाजात्रा’, ओभरसिजमा अहिलेसम्मकै उच्च कलेक्शन

चैत्रको ९ गतेबाट रिलिजमा आएको फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा बम्पर व्यापारलाई निरन्तरता दिइरहेको छ । चौथो सातामा पनि यो फिल्मले आक्रामक व्यापार जारी राख्यो । 

निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा यो फिल्मले रिलिजको चौथो सातासम्म १५ करोड माथिको ग्रस कलेक्शन नेपाली बजारबाट गरिसकेको छ । 
यो फिल्मले चौथो सातासम्म आइपुग्दा नेपाली बजारबाट १५ करोड ९० लाखको ग्रस कलेक्शन गरेको छ । साथमा, फिल्मले ओभरसिजमा १० करोड ७५ लाखको कलेक्शन गरेको उल्लेख गरिएको छ । 

यो फिल्मले विश्व बजारबाट आक्रामक व्यापार गर्दै गर्दा नेपालमा ‘जारी’ फिल्मको कलेक्शनलाई समेत चुनौती दिइरहेको छ । यो साता फिल्मले ‘जारी’को रेकर्डलाई तोड्ने संभावना उच्च छ । 

षट्कोण आर्टसले यसअघि बनाएका सबै फिल्मको रेकर्डलाई समेत यो फिल्मले तोडेको छ । ओभरसिजमा फिल्मले अहिलेसम्मकै उच्च व्यापार गरेको निर्माणपक्षले बताएको छ । 

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । 

फिल्मबाट लेखक तथा निर्देशक प्रदीप भट्टराईले नाफाको ५० प्रतिशत पाउने भएकाले  पनि उनको हातमा ह्यान्डसम शेयर जाने  पक्का भएको छ । 

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।