दयाको बर्थ डेमा ‘डिग्री माइला’को शिर्ष गीत रिलिज

चैत्रको ३० गतेबाट रिलिजमा आएको फिल्म ‘डिग्री माइला’को शीर्ष गीत सार्वजनिक भएको छ । नायक दयाहाङ राइको जन्मदिनको अवसर पारेर फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको हो । ‘म डिग्री माइला’ बोलको गीतमा पवन गिरीको स्वर, झुमा लिम्बुको संगीत, स्वप्निल स्मृतिको शब्द छ ।

गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मले शैक्षिक डिग्रीको अहमताले भरिएको पात्र र समाजले उप्रति राख्ने अपेक्षाको कथा भन्छ ।

यो फिल्ममा प्रकाश घिमिरे, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल लगायतका कलाकारको अभिनय छ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुष्मा फिल्मसँग मिलेर निर्माण गरेको  फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङको लगानी छ ।

क्रिस लामा फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठ र राइली एस सिनको छायांकन छ ।