‘एनिमल’पछि ‘रङ्गेली’मा जन्मिएका आर्यन, दीपकराजको निरन्तरता ‘हात्तीछाप २’मा होला ?

पछिल्लो एक महिनामा रिलिज भएका तीन नेपाली फिल्मले सिक्वेल निर्माणको घोषणा गरिसकेका छन् । फिल्मको पहिलो पार्टमा नै दोस्रो सिरिज बनाउने तयारी गरिएको प्रष्ट देखिन्छ । यसका लागि निर्माणपक्षहरुले नयाँ नयाँ सरप्राइज छाडेका छन् । 

फिल्म ‘हात्तीछाप’को पोष्ट क्रेडिटमा कलाकार दीपकराज गिरीको इन्ट्री भयो । दीपकराजको इन्ट्रीलाई निर्माणपक्षले राम्रैसँग प्रचार पनि गर्यो । तर, व्यवसायीक रुपमा फिल्मलाई कुनै फाइदा भने भएन । 

निर्माणपक्षले ‘हात्तीछाप २’मा दीपकराज गिरीले काम गर्ने पक्का भएको बताएको छ । ‘हात्तीछाप २’मा सौगात मल्ल र दीपकराज गिरीको प्रतिस्पर्धा देखाउने तयारी गरिएको थियो । ‘बोतल राजा र राजा’को प्रतिस्पर्धा अब दर्शकले हेर्न पाउँछन् या पाउँदैनन् त्यो भन्न सकिँदैन । तर, दीपकराजको इन्ट्रीका लागि ‘हात्तीछाप’को टिमले राम्रै मिहिनेत गरेको थियो । 

फिल्म ‘अगस्त्यः च्याप्टर १’ बनाउँदै गर्दा यसका निर्देशक सौरभ चौधरीले ‘अगस्त्यः च्याप्टर २’ को कथा पनि लेखिसकेका थिए । फिल्मको अन्तिममा ‘को हुन् गणेश’ भन्ने सरप्राइज छाडिएको छ । यहीबाट नै फिल्मले निरन्तरता पाउने देखिएको छ । सन् २०२६ मा यो फिल्म रिलिज गर्ने तयारी निर्माणपक्षको छ । ‘अगस्त्यः च्याप्टर १’ले हलमा दर्शकको राम्रो साथ पाइरहेको छ । 

फागुनको २५ गतेबाट रिलिजमा आएको फिल्म ‘रङ्गेली’को अन्तिममा पनि नायक आर्यन सिग्देलको इन्ट्री गराइएको छ । एउटा कुरा प्रष्ट के हो भने, बलिउडमा फिल्म ‘एनिमल’ रिलिज भएपछि यसैबाट प्रभावित भएर आर्यनलाई ‘रङ्गेली’मा प्रवेश गराइएको हो । 

आर्यनको केमियो र ‘एनिमल’मा भिलेन रणवीर कपुरको केमियोको स्टाइल उस्तै छ । तर, योसँगै निर्माणपक्षले ‘रङ्गेली’को सिक्वेल बनाउने घोषणा गरेको छ । सिक्वेलमा दयाहाङ राई र आर्यन सिग्देलको प्रतिस्पर्धा हुने देखिएको छ । 

तीन फिल्मले सिक्वेल निर्माणको घोषणा पहिलो सिरिजबाटै गरेका छन् । साथै, फिल्मको अन्तिममा नयाँ कलाकारको प्रवेश गराउँदै दर्शकलाई थप सरप्राइज समेत दिएका छन् । यसले, दर्शकका लागि यी तिनै फिल्मको दोस्रो सिक्वेलको प्रतीक्षा रहने निश्चित छ ।