शो नपाएको भन्दै भोलिदेखि ‘काँडेतार’को प्रदर्शन स्थगीत गर्ने घोषणा

फिल्म ‘काँडेतार’लाई हलबाट उतार्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । निर्माता तथा निर्देशक नवल खड्काले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदर्शकहरुले फिल्मलाई सहयोग नगरेको भन्दै प्रदर्शन बन्द गर्ने घोषणा गरेका हुन् । 

योसँगै शुक्रबारदेखि रिलिजमा आएको यो फिल्म भोलीबाट भने हलमा प्रदर्शन नहुने भएको छ । निर्देशक खड्काले पत्रकार सम्मेलनमा भने–‘हामीले देशभक्ति फिल्म बनाउनु नै अपराध गरेको हो र ? के देशभक्ति फिल्म फिल्म नै होइन ? व्यवहारमा यस्तो नै देखिएको छ । यसको जवाफ हामीलाई सम्बन्धित सरोकारवाला निकायले एक दिन दिनै पर्छ ।’

उनले, देशभक्ति फिल्ममाथि मजाक गर्न छुट कसैलाई पनि नभएको तर्क गरेका छन् । नवलले, फिल्म हलहरुबाट शो दिइँदा प्राइम टाइममा गडबडी हुन्छ भन्ने कुरा कल्पना पनि नगरेको बताएका छन् । 

आफूहरूसँग जुध्न आएका अन्य नेपाली फिल्मका ८०–९० वटा शोहरु प्राइम टाइममा दिइएको तर आफूहरूको फिल्मलाई भने निकै कम शो दिइएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।

नवल खड्का, गौरव पहारी, रेबिका गुरुङ, सुरबिना कार्की लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने कथालाई उठान गरेको छ ।