‘शैतान र कुङ फु पान्डा’माथि हलवालाको भर, नेपाली फिल्ममाथि किन डर ?

शुक्रबारदेखि ३ नेपाली र २ विदेशी फिल्म रिलिज हुँदैछन् । ३ नेपाली र २ विदेशी फिल्म रिलिज हुँदा शो बाँडफाँडमा पनि प्रदर्शकहरुलाई समस्या परेको छ । 

तर, शुक्रबारदेखि रिलिज हुन लागेका नेपाली फिल्ममाथि भने प्रदर्शकहरुले भर नगरेको देखिएको छ । उनीहरुको बढी विश्वास एक हिन्दी र एक हलिउड फिल्ममाथि नै बढी देखिएको छ । 

क्यूएफएक्स चेनले उपत्यकाका हलमा बलिउड फिल्म ‘सैतान’ र हलिउड फिल्म ‘कुङ फू पान्डा’लाई २०–२० शोज उपलब्ध गराएको छ । यी दुई विदेशी फिल्मले नै ४० शो लगेपछि नेपाली फिल्मको शोज भने दयनीय नै देखिएको छ ।

उपत्यकामा क्यूएफएक्सले ‘उपहार’लाई ३ शोज दिएको छ । यस्तै, ‘रङ्गेली’ले ४ शोज पाउँदा ‘काँडेतार’ले ३ शोज पाएको छ । 

काठमाडौं बाहिर पनि नेपाली फिल्महरूलाई क्यूएफएक्सले एक–एक शोमै सीमित राखेको छ । 

‘उपहार र रङ्गेली’ले ‘वान सिनेमाज् र एफक्यूब’ले भने ३–३ शोज उपलब्ध गराएका छन् । ‘काँडेतार’लाई भने वान सिनेमाज्ले २ शोज, एफक्यूबले एक शो उपलब्ध गराएको छ । 

दोस्रो सातामा भने फिल्म ‘अगस्त्य’को शोज खुम्चिएको छ । आशा गरिएका नेपाली फिल्महरूले नै शोज कम पाउँदा बिदाको समयमा पनि गतिलो व्यापार गर्न नसक्ने देखिएको छ । 

विशेषगरि, क्यूफएक्स चेनले भने नेपाली फिल्मलाई शोज वितरणमा चरम विभेद गरेको छ ।