फिल्मीकर्मीलाई पाइरेसीले तनाव

निर्देशक मिलन चाम्सले फिल्म ‘गोर्खा वारियर’ पाइरेसीको शिकार भएपछि आफू तनावमा रहेको भन्दै बारम्बार स्टाटस लेखे । फागुनको ११ गतेबाट रिलिजमा आएको यो फिल्म सुरुवातमै पाइरेसीको शिकारमा पर्यो । यसपछि, पाइरेसीका कारण आफू निदाउन नसकेको उनको भनाई थियो । उनले, साइबर ब्यूरोमा उजुरी दिने समेत बताएका थिए । 

करोड भन्दा माथिको बजेटमा बनाएको फिल्म पाइरेसीमा पर्दा निर्मातालाई समस्या हुने गरेको छ । यस्तै, फागुनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य’ पनि पाइरेसीको शिकारमा परेको छ । यो फिल्मको आधा घण्टासम्मको दृश्य युट्युबमा अपलोड गरिएको थियो । 

अहिले उक्त भिडियो हटाइएको छ । तर, अन्य छोटा छोटो क्लिप्स भने युट्युबमा भेटिन्छन् । नेपाली फिल्मलाई टिकटकमा पनि अपलोड गर्दा निर्माताहरू समस्यामा पर्ने गरेका छन् । 

एउटा निर्माताले २–४ करोड खर्च गरेर तयार पारेको फिल्म हलबाट खिचेर सामाजिक संजालमा अपलोड हुँदा त्यसले समस्या पार्ने गर्दछ । एक त हलमा नै फिल्म रिलिज भइरहेको हुन्छ, अर्को ओभरसिज मार्केटमा पनि यसले गर्छ । यसैले, पाइरेसी गर्दा कानुनी कारवाहीमा परिने चेतना आम दर्शकमा फैलाउन जरुरी देखिएको छ । 

फिल्म ‘गोर्खा वारियर’ दोस्रो सातामा रिलिज भइरहेको छ भने ‘अगस्त्य’को व्यापार पनि औषत छ । निर्माणपक्षले फिल्म ‘अगस्त्य’ले २ दिनमा १.२ करोडको व्यापार गरेको बताएको छ ।