विराजको ‘१२ गाउँ’मा न्यान्सीको इन्ट्री

नायक विराज भट्टले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘१२ गाउँ’का लागि नायिका फाइनल गरिएको छ । यो फिल्ममा न्यान्सी खड्काले काम गर्ने पक्का भएको विराजले जानकारी दिएका छन् । आफूहरूले खोजे जस्तो पात्र भएकाले न्यान्सीलाई अनुबन्धित गरिएको विराजको भनाई छ ।

खड्का ‘मिस नेपाल इन्टरनेशनल २०२२’ समेत हुन् । विराटनगर घर भएकी न्यान्सीले व्यवसायीक मोडलको रुपमा काम गरिरहेकी छिन् । 

यो फिल्ममा विराजका छोरा समीर भट्टले काम गर्ने पक्का भइसकेको छ । यही फिल्मबाट समीरले फिल्म क्षेत्रमा डेब्यू गर्न लागेका हुन् । यो फिल्मको छायांकन चैत्रको १५ गतेबाट सुरु गर्ने तयारी विराजको छ । सन्तोष सरकारको कथा तथा पटकथामा तयार हुने फिल्ममा विराजको पनि मुख्य भूमिका रहनेछ ।

नेपाली फिल्म क्षेत्रलाई एक्सनको नयाँ तहमा लैजान यो फिल्म महत्वपूर्ण साबित हुने  विराजको बुझाई छ । 

फिल्म ‘१२ गाउँ’को कथावस्तुको बारेमा केही पनि बताइएको छैन । तर, विराजले  यो प्रोजेक्टलाई करिअरकै महत्वकांक्षी प्रोजेक्टको रुपमा हेरेका छन् ।