‘खजुरे ब्रो’को फस्टलुक रिलिज, वैशाख २८ बाट हुनेछ रिलिज

फिल्म ‘खजुरे ब्रो’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरिएको छ । यो फिल्म आउँदो बर्षको वैशाखको २८ गतेबाट रिलिजमा आउने पक्का भएको छ । छायांकन सकिएको केही दिनमै निर्माणपक्षले फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति तय गरेको हो । 

सार्वजनिक पोस्टरमा फिल्मकै गेटअपमा मुख्य ४ जना पात्रलाई प्रस्तुत गरिएको छ । ‘धरान रन’को १२ औं संस्करणको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको हो । यो फिल्ममा धरानका मेयर हर्क साम्पाङको पनि विशेष भूमिका छ । यो पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन् ।

फिल्मको शीर्ष भूमिकामा रेअर राईको अभिनय छ । उनको साथमा फिल्ममा महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर लगायतका कलाकारको अभिनय छ । यो फिल्मलाई सुरज सुनुवारले लेखन तथा निर्देशन गरेका हुन् । पारिवारिक व्यङ्ग्यात्मक लाइट कमेडी जनरामा यो फिल्म तयार भएको हो ।

फिल्ममा प्रकाश भुजेल, बिनिता मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई लगायतका कलाकारको पनि अभिनय छ । दिव्य दृश्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा नवीन मानन्धर र सुरज सुनुवारको लगानी छ ।

शिशिर बिसंखेले छायांकन गरेको फिल्ममा अनमोल गुरुङको संगीत, अनिल मानन्धर र पिकेश मानन्धरको सह–निर्माण छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।