‘हनुमान’माथि प्रदर्शकको पनि आश, तर दयनीय छ बुकिङ

गत शुक्रबारदेखि रिलिजमा आएका दुई नेपाली फिल्मको व्यापार कमजोर देखियो । नेपाली फिल्मले व्यापार कमजोर गर्नु, ‘सलार र डंकी’पछि नेपाल भित्रिएका विदेशी फिल्मले पनि गतिलो व्यापार नगर्दा प्रदर्शकहरुलाई समस्या बढाएको छ । हलको व्यापारमा खडेरी नै लागेको छ भन्दा फरक नपर्ला । यसैले, कुनै न कुनै विदेशी फिल्ममाथि उनीहरू बढी आशावादी देखिएका छन् । 

यही बीचमा, नेपाली वितरकले भारतमा एक साता अगाडि नै रिलिजमा आएको साउथ फिल्म ‘हनुमान’को हिन्दी डब भोलीदेखि रिलिजको तयारी गरेका छन् । यो हिन्दी डब फिल्ममाथि नेपाली प्रदर्शकहरुको भरोसा पनि उच्च देखिएको छ । यसैले, मल्टिप्लेक्सहरुले यो फिल्मलाई निकै नै राम्रो शोज उपलब्ध गराएका छन् । 

अझ, नेपाली वितरकले त यो फिल्मको हरेक टिकटबाट आएको रकमको ५ रूपैयाँ भारतमा निर्माण भइरहेको राम मन्दिरका लागि खर्च गर्ने घोषणा गरिसकेका छन् । भारतमा ‘हिन्दु र मुस्लिम’लाई देखाएर भइरहेको मोदी सरकारको राजनीतिमा नेपालका वितरक पनि घुमाउरो तरिकाले सहभागी भएका छन् । अनि, नेपाली दर्शकबाट धार्मिक सहानुभूति बटुलेर वितरकहरु पैसा कमाउन चाहिरहेका छन् । 

सायद, यही कुरा बुझेर हुनसक्छ यो फिल्ममाथि दर्शकको खासै चासो गएको देखिँदैन । भोलीबाट यो फिल्मका लागि नेपाली प्रदर्शकले उल्लेख्य शोज दिए पनि बूकिङ भने दयनीय नै छ । 

काठमाडौंका अधिकांश मल्टिप्लेक्समा यो फिल्मले पाएको शोजमा दर्शकको संख्या औँलामा सहजै गन्न सकिने खालको छ । 

यो समाचार तयार पार्दासम्म क्यूएफएक्स चेनको उपत्यकाका अधिकांश हलमा दर्शकको उपस्थिति ज्यादै नै न्यून छ । 

यस्तै, वान सिनमाज्, बीग मुभिज, आई एन आई सिनेमाज् लगायतका हलमा फिल्मको बूकिङ दयनीय नै छ । 

‘हनुमान’ भारतमा रिलिज भएको एक सातापछि नेपालमा रिलिज हुन लागेको फिल्म हो । यसको पाइरेट भिडियोहरू इन्टरनेटमा छ्याप्तछ्याप्ती छन् । जसकाकारण, फिल्मप्रति रुची राख्ने अधिकांश दर्शकले यो फिल्मको पाइरेट भिडियो हेरिसकेका छन् । यसैले, पनि नेपाली दर्शकलाई फिल्मप्रति रुची नभएको हुनसक्छ । फिल्मको वर्ड अफ माउथ भारतमा सुखद भएपनि त्यस्तै प्रतिक्रिया नेपाली दर्शकबाट यसले पाउँछ भन्न सकिँदैन । 

नेपाली वितरकले धार्मिक सहानुभूतिको बलमा रिलिज गर्न लागेको यो फिल्मलाई प्रदर्शकले पनि राम्रैसँग काँध थापेका छन् । तर, दर्शकको चासो भने फिल्ममा खासै देखिएको छैन । 

यो पनि पढ्नुहोस्

मुनाफाको आशामा नेपालमा रिलिज हुँदै ‘हनुमान’, तर पाइरेट भिडियोले डुबाउन सक्छ