नयाँ चुनौती स्विकार्दै निर्मात्री बनेँः स्वस्तिमा खड्का

स्वस्तिमा खड्काले फिल्म क्षेत्रमा नायिकाको रुपमा सफलताको स्वाद चाखिसकेकी छिन् । नायिकाको रुपमा आजको दिनमा उनी अग्रपङ्क्तिमा छिन् । फिल्म ‘होस्टेल रिटन्र्स’देखि ‘दिमाग खराब’सम्म आइपुग्दा स्वस्तिमाको फिल्मी करिअरको ग्राफ लोभलाग्दो छ । 

अब, नायिका खड्का निर्मात्री बन्दैछिन् । आकाश बरालको निर्देशनमा बन्न लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’बाट उनी निर्मात्री बन्न लागेकी हुन् । यो फिल्ममा उनीसँगै निर्देशक निश्चल बस्नेत मुख्य भूमिकामा देखिदैछन् । 

फिल्ममा लगानी गर्न किन लाग्नुभयो भन्ने मेरो फिल्मको प्रश्नमा स्वस्तिमाले भनिन्–‘सुरुवातमा मलाई यो फिल्मबाट अभिनयका लागि मात्र अफर आएको हो । तर, फिल्मको कथा सुनेर मन परेपछि मैले निर्मात्री बन्ने प्रस्ताव राखेकी हुँ ।’

यो बाहेक स्वस्तिमा अब नयाँ चुनौती पनि स्विकार गर्ने सोचमा देखिएकी छिन् । उनले भनिन्–‘९ बर्षदेखि नायिकाको रुपमा मात्र काम गर्दा ‘मोनोटनस’ पनि भयो । अब, केही नयाँ गर्नुपर्छ भन्ने पनि लाग्यो । फिल्म ‘दिमाग खराब’मा टिमसँग नजिक भएर काम गर्दा मैलै निर्माताको भोगाई पनि केही हदसम्म बुझ्ने मौका पाएँ । यसपछि, नयाँ च्यालेञ्ज स्विकार गर्न मन लाग्यो र निर्मात्री बनेँ ।’

नायिकाको रुपमा मात्र काम गर्दा धेरै कुराहरू थाहा नहुने स्वस्तिमाको बुझाई छ । निर्माता बन्नु आफैंमा सहज कुरा नभएको उनले बुझेकी छिन् । यसैले, यो चुनौती स्विकार गर्न उनी तयार भएकी हुन् । 

फिल्मलाई ब्ल्याक हर्स पिक्चर्सकै ब्यानरमा निर्माण गरिनेछ । आफूले अर्को ब्यानर स्थापना नगर्ने स्वस्तिमाले जानकारी दिएकी छिन् । 

यो बर्ष ‘पशुपति प्रसाद २ः भष्मे डन र  दिमाग खराब’ बक्स अफिसमा हिट भएपछि स्वस्तिमाको करिअर नयाँ उचाइमा पुगेको छ । उनलाई लिएर फिल्म बनाउन निर्माताहरू लालायित छन् । स्वस्तिमा भने अब आफ्नै लगानीमा फिल्म बनाउँदै नयाँ पाइला चाल्ने तयारीमा छिन् ।