हात जोड्दै दीपकले भने–‘एक्लै लड्न सकिनँ, नयाँ कलाकार लिएर अबदेखि फिल्म बनाउँदिनँ’

नेपाली फिल्म क्षेत्रमा निर्देशक दीपक श्रेष्ठको योगदान अतुलनीय छ । दीपकले फिल्म क्षेत्रलाई थुप्रै सुपरहिट फिल्म दिएका छन् । उनले निर्देशन गरेका ‘भाइ, पापी मान्छे, हिम्मत, दुःख, गाउँले, पर्खि बसेँ’ लगायत दुई दर्जन फिल्म दिएका छन् ।

पौष २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पर्खि बसेँ तिमीलाई’ उनले निर्देशन गरेको २६ औं फिल्म हो । यसपछि, उनी आफ्नो २७ औं फिल्म ‘घिन्ताङ’ रिलिजको तयारीमा लाग्नेछन् । 

दीपकले फिल्म क्षेत्रमा थुप्रै नयाँ नायक–नायिका जन्माएका छन् । जसमा, राजवल्लभ कोइराला र यूना उप्रेतीले काम गरेको फिल्म ‘पर्खि बसेँ’ धेरैको दिमागमा आउँछ । 

तर, आफ्नो २६ औं फिल्म रिलिजको तयारीमा लागेका दीपक अबदेखि नयाँ कलाकार लिएर फिल्म नबनाउने बताउँछन् ।

मेरो फिल्मसँग कुरा गर्दै उनले भने–‘यहाँ कुनै पनि फिल्मीकर्मीको विगतलाई हेरेर सम्मान नहुने रहेछ । विगत त यसै सकिने रहेछ । आज मलाई यी कुराहरू भन्दा दुःख लागेको छ । तर, नयाँ कलाकार लिएर फिल्म रिलिज गर्न जस्तो गाह्रो मैले केही देखिनँ । नयाँ कलाकार लिएर अब फिल्म नबनाउने घोषणा गर्दछु । नयाँ कलाकारको साथमा बनाएको ‘पर्खि बसेँ तिमीलाई’ फिल्म नै मेरो अन्तिम फिल्म हो ।’

दीपकले फिल्म रिलिज गर्दा नयाँ कलाकार भनेर वितरक, डिजिटल अधिकार खरिदकर्ता र प्रदर्शकले निकै नै हेप्ने गरेको गुनासो गरे । उनले भने–‘गीत हेरेर डिजिटल राइट्स लिनेहरू प्रशंसा गर्छन् । तर, पछि कुरा गरौँला भनेर गएपछि फोन उठाउँदैनन् । वितरक पनि फिल्म लिन नै नमान्ने । प्रतिशतमा फिल्म लिनुहोस् भन्दा पनि तर्कने गर्दा रहेछन् ।’

प्रदर्शकमाथि पनि दीपकको आक्रोश उस्तै छ । उनले भने–‘यहाँ हिन्दी फिल्मको खोजी खोजी हलमा ट्रेलर बजाइन्छ । हाम्रो त उही १५ दिन पैसा तिरेर बजाउने हो भने मात्र १५ दिन हलमा निःशुल्क बज्ने रहेछ । पोस्टर त टाँस्न कसैले मान्दैन । खुट्टा ढोग्दा पनि कसैले पोस्टर टाँस्न मानेनन् ।’

दीपकले विभिन्न फिल्म कलेजमा पढेका यूवायूवतीहरुलाई पनि अरु पेसा रोज्नका लागि आग्रह गरे । भने–‘म फिल्म कलेजमा पढेर यो क्षेत्रमा आउन चाहने भाइ बहिनीहरूलाई पनि अरु पेशा रोज्न सुझाव दिन चाहन्छु । किनकी, यहाँ नयाँ कलाकार लिएर फिल्म बनाउन निकै गाह्रो छ ।’

दीपकले अब आफूलाई दर्शकमाथि मात्र भरोसा भएको बताए । भने–‘मलाई दर्शकले भने सधैं नै माया गर्नु भएको छ । यसपटक, पनि दर्शकको नै माया पाउने आशामा छु ।’