सौगात मल्ल यसकारण ‘वास्तविक सुपरस्टार’

नायक सौगात मल्ल अभिनित फिल्म ‘अगस्त्य च्याप्टर १’को फस्टलुक सोमबार सार्वजनिक भयो । सार्वजनिक २ पोष्टरमा सौगातको फरक–फरक गेटअप छ । 

एउटा पोष्टरमा सौगात कसिलो देखिए । अर्को, पोष्टरमा उनी मानसिक सन्तुलन विग्रीएको पात्रको भूमिकामा देखिएका छन् । 

सौगात मल्लले आफूलाई बदल्नका लागि गरेको मिहिनेत निकै रोचक छ । यो फिल्मका लागि सौगात मल्लले २० केजी तौल घटाए । यतिमात्र होइन, गोरखपुरको तातो गर्मीमा उनी खाली खुट्टा ६ दिनसम्म दौडिएका थिए । 

४० डिग्री सेल्सियसमा उनी ६ दिन खाली खुट्टा दौडँदा पैतालाको छाला सबै खुइलिएको यसका निर्देशक सौरभ चौधरीले जानकारी दिए । २० केजी तौल घटाएपछि सौगातले डेढ महिनामा १० केजी तौल बढाएर शरीरलाई कसिलो बनाएका थिए । 

उसो त, सौगातले आफूलाई यसरी परिवर्तन पहिलो पटक गरेका होइनन् । सौगातका यसअघिका अधिकांश फिल्म हेर्ने हो भने पनि उनले आफ्नो गेटअप, बोलीमा निकै परिवर्तन गरेको पाइन्छ । ‘लुकामारी होस् या षट्कोण, सौगात मल्लको परिवर्तन अधिकांश फिल्ममा देख्न पाइन्छ । 

नेपाली कलाकारहरूलाई पात्रको लागि जिउन नसकेको आरोप लाग्दै आएको छ । केही अर्थमा यो सही पनि हो । आफ्नो पात्रका लागि उनीहरूले हाउभाउ र मेकअप बदलेका छन्, तर आफूलाई बदल्न सकेका छैनन् । तर, सौगातले आफूलाई पनि बदलेका छन् । यसैले, उनी फिल्म क्षेत्रको वास्तविक सुपरस्टार हुन् भन्दा फरक पर्दैन । 

फिल्मको पात्रमा बाँच्ने कलाकार कम पाइन्छ । नेपालमा त अझै, निकै कम भेटिन्छन् । यसमा सौगात मल्ल सबैभन्दा अगाडि छन् । बक्स अफिसमा पनि उनी सफल मानिन्छन् । पात्रलाई जीवन्त रुपमा अगाडि बढाउने कुरामा पनि उनी अग्रसर छन् । यसकाकारण, सौगात मल्ल फिल्म क्षेत्रको वास्तविक सुपरस्टार हुन् ।