आउँदो दशैंमा दीपकको ‘छक्का पन्जा ५’ ?

फिल्म ‘छक्का पन्जा’को सिरिजलाई नेपाली फिल्म क्षेत्रमा ‘खाली चेक’को रुपमा लिइन्छ । जुन चेकमा जति पनि पैसा लेख्न सकिन्छ भनेर फिल्मीकर्मी, प्रदर्शक र वितरकले वुझ्छन् । अझ, निर्माताले त यो कुरा नवुझ्ने कुरै भएन । 

गतबर्षको फागुण १९ गतेबाट फिल्म ‘छक्का पन्जा ४’ रिलिज भयो । फिल्मले बक्स अफिसमा १७ करोड(विकास बोर्डले उपलब्ध गराएको आँकडा)को ग्रस कलेक्शन गर्यो । यसअघिका तीन सिरिजले पनि बक्स अफिसमा ब्लकबस्टरको व्यापार गरेका थिए । 

यो बर्ष ‘छक्का पन्जा’ टिमको कुनै पनि फिल्म रिलिज नहुने पक्का छ । तर, अर्को बर्ष दुई वटा फिल्म रिलिज गर्ने तयारीमा निर्माता तथा कलाकार दीपकराज गिरी लागिपरेका छन् । 

दीपकले आउँदो बर्षको दशैंमा आफ्नो फिल्म रिलिज हुने बताउँदै आएका छन् । तर, उनले कुन नाममा फिल्म बनाउँछन् भन्ने अझै खुलेको छैन । उसो त, दीपकले फिल्मको मुहुर्तको दिनमा मात्र नाम खुलाउने गरेका छन् । 

आउँदो बर्षको दशैंमा दीपकको फिल्मसँगै अन्य दुई वटा फिल्म रिलिज हुने पक्का भइसकेको छ । जसमा दिनेश राउतको ‘गाउँ नै रमाइलो’ र सन्तोष सेनको ‘बलिदान’ पक्का भइसकेको छ । 

आइतबार सामाजिक संजालमा दीपकले आफ्नो तस्विर राख्दै क्याप्सनेमा–‘२०८१ को दशैं....?’ । यसको अर्थ, दशैंमा फिल्म त ल्याउने तर कुन भनेर उनले भन्न खोजेका छन् । 

दीपकले आउँदो दशैंमा आफ्नै होम प्रोडक्शनको फिल्म रिलिज गर्ने पक्का गरिसकेका छन् । दीपकको संकेत ‘छक्का पन्जा ५’ तर्फ देखिएको छ । मेरो फिल्मले श्रोतहरुसँग कुराकानी गर्दा पनि दीपकले अब अन्य नाम छाडेर ‘छक्का पन्जा ५’ नै बनाउने तयारी थालेको वुझिएको छ । 

अन्य दुई ठूला फिल्म आउने भएपछि दीपकले आफ्नो ‘खाली चेक’लाई नै अगाडि सार्न लागेको हुनसक्छ । किनकी, नेपाली फिल्मको इतिहासमै ‘छक्का पन्जा’ ब्रान्डको रुपमा स्थापित भएको फिल्म हो । दीपकले यसपटक प्रतिस्पर्धी पनि बलियो देखेपछि ‘छक्का पन्जा ५’लाई तुरुपको एक्काको रुपमा फ्याक्न खोजेको देखिन्छ ।