आर्यनलाई उचाल्दैछन् दिनेश, अरु निर्देशकले काम सुरु गर्नै सकेनन्

नायक आर्यन सिग्देलको हातमा फिल्म नै फिल्म छन् । तर, उनको लाइनअपमा देखिएका फिल्ममध्ये निर्देशक दिनेश राउतसँगको फिल्म मात्र निर्माण हुने देखिएको छ । 

आर्यनले निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा बन्ने फिल्म ‘दौँतरी’ साइन गरेका थिए । तर, यो फिल्म बन्ने वा नबन्ने कुनै टुंगो छैन । उनै, आर्यनले फिल्म ‘सञ्जीवनी’ पनि साइन गरेका थिए । दिनेश श्रेष्ठले निर्देशन गर्ने यो फिल्मको छायांकन भदौमा सुरु हुनुपर्ने हो । तर, अब यो फिल्म बन्छ या बन्दैन टुंगो छैन । 

यस्तै, आर्यनले फिल्म ‘सायरा’ पनि काम गर्ने तय भएको थियो । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यो फिल्मको घोषणा गरिएको थियो । फिल्ममा आर्यन सिग्देल र कविता नेपालीले काम गर्ने पक्का भएको थियो । विशाल देसाईले यो फिल्म निर्देशन गर्ने पक्का भएको थियो । तर, यो फिल्म पनि बन्ने वा नबन्ने टुंगो छैन । 

तर, अन्य निर्देशकको फिल्म अन्यौलमा रहेको समयमा निर्देशक दिनेश राउतको साथमा भने आर्यन सिग्देल अगाडि बढिरहेका छन् । दिनेशसँग आर्यनले फिल्म ‘पूजार सार्की’मा काम गर्दैछन् । यो फिल्मको छायांकन माघबाट सुरु हुनेछ । फिल्मको मुख्य भूमिकामा नै आर्यनले काम गर्दैछन् ।

फिल्ममा नायकद्धय प्रदीप खड्का र पल शाह पनि मुख्य भूमिकामा छन् । दिनेशले यो फिल्म सके लगतै फिल्म ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन् । यो फिल्ममा पनि नायक दयाहाङ राई र आर्यन सिग्देल मुख्य भूमिकामा छन् । हिमाल कडरिया यो फिल्मका निर्माता हुन् । 

यसरी हेर्दा, आर्यनले अब निरन्तर दिनेशको फिल्मका लागि समय दिनेछन् । अन्य निर्देशकले फिल्म घोषणा गरेर पनि बनाउन नसकेको अवस्था अब आर्यनलाई आफ्ना प्रिय निर्देशकको नै बढी भर पर्नुपर्ने देखिएको छ । यी दुवै फिल्म सफल भएको खण्डमा आर्यनको करिअरले नयाँ स्थान लिनेछ ।