दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन फाइनल, दशैंमा रिलिज हुने


यस बर्षको सुपरहिट फिल्म ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । हिमालले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ । यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्ने पक्का भएको छ । फिल्ममा विकास सुवेदीको लेखन रहनेछ । दिनेशले फिल्म ‘पुजार सार्की’को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन् । 

यसैबिच, यो फिल्ममा नेपाली फिल्म क्षेत्रका दुई सुपरस्टार नायकहरूको टिमअप पक्का भएको छ । फिल्ममा नायकद्धय दयाहाङ राई र आर्यन सिग्देलले काम गर्ने पक्का भएको निर्माता कडरियाले जानकारी दिएका छन् । दया र आर्यनले यसअघि फिल्म ‘मेरो एउटा साथी छ’मा काम गरेका थिए । यी दुई नायकको टिमअपले फेरि दर्शकमाझ नयाँ उत्साह थपिने पक्का छ । 

यो फिल्मलाई आउँदो बर्षको दशैँमा रिलिज गर्ने घोषणा समेत गरिएको छ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने यो फिल्मले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने वुझिएको छ । 

फिल्मका अन्य कलाकारहरूको घोषणा विस्तारै गरिने निर्माणपक्षले बताएको छ । यो फिल्मको नेपाल वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ । यस्तै, ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले यो फिल्म वितरणको जिम्मा लिएको छ । फिल्मको छायांकन आउँदो बर्षको जेठबाट सुरु हुने निर्माणपक्षले उल्लेख गरेको छ । 

निर्माता कडरियाले फिल्म ‘दुःखी आत्मा’ निर्माणको घोषणा पनि गरिसकेका छन् । दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्ममा दयाहाङ राई फाइनल भइसकेका छन् ।