फिल्म निर्माणमा बाढी, आउँदो बर्ष रिलिजको संख्या बढ्ने पक्का

यो बर्ष केही घटेको फिल्म प्रदर्शनको संख्या अर्को बर्ष फेरि आकासिने पक्का देखिएको छ । आउँदो वर्षका लागि तयार हुँदै गरेका फिल्मको संख्या हेर्दा पनि रिलिज मितिमा निर्माताहरुबिच टकराव हुने निश्चित जस्तै छ । 

एकातिर, नेपाली फिल्मको निर्माण संख्या ह्वात्तै बढ्दा आउँदो बर्ष बलिउडमा पनि ठूला फिल्मको संख्या निकै कम हुने देखिएको छ । जसको प्रत्यक्ष फाइदा नेपाली फिल्मलाई पर्न सक्छ । 

चलचित्र विकास बोर्डमा दर्ता भएका फिल्मको संख्या हेर्दा पनि यो बर्षको ८ महिनामा सयको हारहारीमा छन् । यी मध्ये केही फिल्मको निर्माण यो बर्ष सुरु भएको छ भने, अधिकांशको अर्को बर्ष सुरु हुनेछ । 

नेपाली फिल्म निर्माणमा एकाएक बाढी आउँदा कलाकार र प्राविधिकहरूलाई भने भ्याई नभ्याई बनेको छ । नायक दयाहाङ राइको हातमा मात्र डेढ दर्जन बढी फिल्म छन् । फिल्म निर्माणमा आएको यो बाढीलाई सुखद मान्न सकिन्छ । तर, निर्माणको समयमा हतार गर्दा रिलिजपछि पछुताउने अवस्थाको बारेमा निर्माताहरू सजग हुन आवश्यक छ । 

मङसिर महिनामा मात्र ‘यो मन त मेरो नेपाली हो, दुखी आत्मा, लाखे आजु, पूजार सार्की, सोफीइ, सुगुप, गाउँ नै रमाइलो, अर्गानिक माया, रिमै, इन्दिरा धिमे मैचा, मनसरा, ऐरी, खेल, चिराख, कङ्गारु, मायाका रंगहरु’ लगायतका फिल्मले निर्माणको इजाजत लिएको देखिन्छ । मङसिर महिनामा निर्माणको इजाजत लिएका फिल्महरूको छायांकन अब विस्तारै सुरु गर्ने तयारीमा निर्माता छन् । यसरी हेर्दा, फिल्म निर्माणको संख्या ह्वात्तै बढेको छ । 

नेपाली फिल्म निर्माणमा निर्माताहरू किन जोसिएका हुन् भन्ने यकिन कारण भन्न सकिने अवस्था छैन । तर, निर्माताहरूलाई हलबाट ५० प्रतिशत शेयर आउनु, केही फिल्मले राम्रो कमाई गर्नु, विदेशी बजार र डिजिटल माध्यमबाट पनि राम्रो आम्दानी हुनु आदिले नयाँ निर्माताहरूलाई हौस्याएको धेरैको विश्लेषण छ ।