दयाको अस्तव्यस्त सेड्यूल, तर धमाधम प्रदर्शन मिति घोषणा गर्दै निर्माता

नायक दयाहाङ राईको फिल्म सेड्यूलको समय अस्तव्यस्त छ । उनको हातमा यति धेरै फिल्म छन् कि, कुन फिल्मलाई समय दिने भन्नेमा उनी अन्यौलमा छन् । तर, छायांकन नै सुरु नभएका फिल्मको समेत धमाधम प्रदर्शन मिति तोकेर निर्माताहरू अगाडि बढेको छन् । 

नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘मनसरा’को प्रदर्शन मिति आउँदो बर्षको वैशाख २१ लाई तोकिएको छ । यो फिल्मको छायांकन सुरु भएकै छैन । दया फिल्म ‘भुठान’को छायांकनका लागि अमेरिका जाने तयारीमा छन् । अमेरिकामा उनले करिब एक साताको समय यो फिल्मलाई दिनुपर्ने वुझिएको छ ।

यसपछि, नेपाल आएर उनले फिल्म ‘डिग्री माइला’को बाँकी रहेको छायांकन भ्याउनुपर्ने छ । यो फिल्मलाई चैत्रको अन्तिम साता रिलिज गर्ने तयारी निर्माणपक्षको छ । 

उनै, दयाको अर्को फिल्म ‘मनसरा’को छायांकन कहिले सुरु हुन्छ पक्का छैन । तर, निर्देशक उपेन्द्र सुब्बा र निर्माण कम्पनी कबड्डी फिल्मस्ले वैशाख २१ लाई छायांकन मिति तोकिसकेको छ । वुझिएअनुसार, फिल्मको केही प्रतिशत छायांकन सकिएको छ र केही दिनको काम बाँकी छ । 

अब, छायांकन नै सुरु नभएको फिल्म ‘घर ज्वाँई’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई असारको २८ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । यो फिल्मका लागि दयाले कहिले समय दिन्छन् पक्का छैन । तर, निर्माणपक्ष भने फिल्मको प्रदर्शन मिति तोक्न नै हतारिएको छ । 

निर्माता रोहित अधिकारीले बारम्बार छायांकन सेड्यूल सारेको फिल्म हो, ‘वरिष्ठ बलराम’ । तर, यो फिल्मलाई आउँदो बर्षको तीजको अवसरमा रिलिज गर्ने घोषणा उनले गरिसकेका छन् । रोहितले फिल्मको छायांकन मिति केही पछाडि धकेलिएपनि निर्धारित मितिमा नै रिलिज हुने बताए । 

दयाले समय दिने वाचा गरेपछि निर्माता सरोज न्यौपानेले फिल्म ‘लोकल हिरो’को प्रदर्शन मिति फागुण २५ गतेलाई तय गरे । तर, यो फिल्मको लागि दयाले समय दिन नसकेपछि फागुण २५ गते यो फिल्मको प्रदर्शन त परको कुरा, छायांकन समेत सुरु हुने अवस्था छैन । 

दयाले फिल्म ‘कार्साङ’लाई पनि समय दिनुपर्नेछ । वुझिएअनुसार, उनले फागुण महिनामा यो फिल्मका लागि समय दिएका छन् । दयाले फिल्म ‘हात्तीछाप, दयारानी रंगेली र डिग्री माइला’को प्रचारमा पनि समय दिनुपर्नेछ । किनकी, यी ४ फिल्म यो बर्ष नै रिलिज हुँदैछन् । तर, दयाको फिल्म छायांकनको सेड्यूल नै अस्तव्यस्त बनिरहेको समयमा, उनले फिल्मको प्रचारमा समय दिनु कुरामा शंका व्यक्त गर्न सकिन्छ । 

एउटै, नायकमाथि फिल्मको बोझ निर्माताहरूले बोकाइदिँदा र दयाले पनि सबै फिल्मको बोझ बोक्न खोज्दा आज उनको सेड्यूल अस्तव्यस्त छ । तर, निर्माताहरू भने निर्धक्क रुपमा छायांकन नै सुरु नभएको फिल्मको प्रदर्शन मिति तोकेर अगाडि बढिरहेका छन् ।