के कुन्साङ अबका सुपरस्टार हुन् ?

नायक कुन्साङ बोमजमको नयाँ फिल्म ‘दान्भी’को पहिलो टिजर बिहिबार सार्वजनिक भयो । सार्वजनिक टिजरमा कुन्साङको अभिनय र एक्सनले दर्शकको ध्यान तानेको छ । 
उसो त, कुन्साङले यो फिल्मबाट डेब्यू गर्ने तयारी गरेका थिएनन् । यदि, निर्माण घोषणा भएर पनि बनेको भए कुन्साङको डेब्यू फिल्म ‘घुइँचो’ हुने थियो । तर, यो फिल्म नबनेपछि कुन्साङको डेब्यू फिल्म ‘दान्भी’ बनेको छ । 

बिहिबार आयोजित पत्रकार सम्मेलनमा फिल्मकी नायिका पूजा शर्माले कुन्साङलाई नेपाली फिल्मको नयाँ सुपरस्टार भनिन् । उनले भनिन्–‘कुन्साङसँग यो फिल्ममा काम गर्नु अगाडि मेरो भेट भएको थिएनँ । साथै, मैले उनीसँग कुनै पनि म्युजिक भिडियोमा काम गरेको थिइनँ । तर, जब कुन्साङले फिल्मका लागि एक्सन सिकिरहेको भन्ने थाहा पाएँँ, निकै खुशी लाग्यो । उनी, निकै तयार भएर यो क्षेत्रमा आएका छन् ।’

कुन्साङले फिल्मका लागि निकै मिहिनेत गरेको भन्दै पूजाले उनलाई अबको सुपरस्टार भएको बताइन् । बजारमा चर्चाका लागि मात्र यस्तो भन्नु भएको त होइन नी भन्ने मेरो फिल्मको प्रश्नमा पूजाले भनिन्–‘त्यस्तो होइन । कुन्साङमा सुपरस्टार बन्ने सबै खुबी छ ।’

यो फिल्ममा पूजा र कुन्साङको एक्सन साथै रोमान्स पनि छ । आफूहरूको जोडीलाई दर्शकले मन पराउने विश्वास यी दुईको छ । 

नेपाली फिल्म क्षेत्रमा नायकहरूको अभाव छ भनिन्छ । यस्तो अवस्थामा कुन्साङको आगमन पक्कै पनि फिल्म क्षेत्रका लागि सुखद कुरा हो । तर, पूजाले भने जस्तो ‘सुपरस्टार’ बन्नका लागि कुन्साङले धेरै मिहिनेत गर्नुपर्नेछ ।