बक्स अफिसमा ‘टाइगर ३’ले अपेक्षित कमाई गर्न किन सकेन ?

यदि, भोलीबाट कुनै चमत्कार भएन भने स्पाई यूनिभर्स नाम दिएर यशराज ब्यानरले निर्माण गरेका फिल्ममध्ये ‘टाइगर ३’ले बक्स अफिसमा कुनै कमालको व्यापार नगर्ने पक्का देखिएको छ ।
 
यो फिल्म रिलिज अगाडि बक्स अफिसमा ६ सय करोडको आँकडा सहजै छुन्छ भन्ने प्रक्षेपण गरिएको थियो । तर, फिल्मको छैटौ दिनको बक्स अफिसले ३ सय करोडको आँकडा छुन पनि गाह्रो पर्ने देखिएको छ । 

यो फिल्मले पहिलो दिनमा ४३ करोड, दोश्रो दिनमा ५८ करोड, तेश्रो दिनमा ४४ करोड, चौथो दिनमा २० करोड, पाँचौ दिनमा १८ करोड र छैटौ दिनमा १३ करोडको व्यापार गरेको छ । फिल्मले शनिबार पनि व्यापारिक रुपमा कुनै चमत्कार नगरेको ट्रेडहरुले बताएका छन् । 

आइतबारबाट रिलिजमा आएको यो फिल्मले एक सातामा बक्स अफिसमा २ सय करोडको आँकडा मात्र पार गरेको छ । तर, फिल्मको व्यापारिक आँकडा हेर्दा भोली सोमबारबाट यसको व्यापार एकल अंकमा झर्ने निश्चित छ । 

सलमान खान, कट्रिना कैफ, इमरान हाश्मी जस्ता स्टार, स्पाई यूनिभर्सको फिल्म, नाम चलेको ब्रान्डको तेश्रो सिरिज, तिहारको बिदाले पनि फिल्मलाई फाइदा दिलाउन सकेन । 

यसको पछाडि, फिल्मको कथावस्तुलाई नै मुख्य आधार मानिएको छ । स्पाई यूनिभर्समा ‘एक था टाइगर, टाइगर जिन्दा हे, पठान, वार’ जस्ता फिल्म हेरेका दर्शकलाई यसको कथावस्तुले छोएन । निर्देशक मनिष शर्माको निर्देशन निकै नै फितलो देखियो । 

अर्कोतिर, यसपटक दर्शकले फिल्ममा सलमान खानको स्टाइल कमजोर भेटे । सलमानलाई यसपटक निर्देशकले कमजोर स्टाइलमा प्रस्तुत गरेका छन् । फिल्ममा इमरान हाश्मीलाई कमजोर भिलेनको रुपमा चित्रित गरिएको छ, जसले गर्दा नायक र खलनायकको भिडन्तमा दर्शकलाई मज्जा आएन । 

फिल्ममा पाकिस्तानकी प्रधानमन्त्रीलाई बचाउन भारतको एजेन्ट गएको देखाइएको छ । यसले पनि भारतीय दर्शकलाई छोएन । गीतसंगीतको मामालामा पनि फिल्म कमजोर देखियो । सलमानका यसअघिका फिल्म हिट गराउन गीतले महत्वपूर्ण भूमिका खेलेका थिए । तर, यो फिल्मको गीत पनि खासै बलियो बनेन । फिल्मको रिलिज मिति पनि सही नभएको धेरैको टिप्पणी छ ।

शुक्रबार रिलिज नगरेर फिल्मलाई किन आइतबार रिलिज गरियो भन्ने बारेमा पनि धेरैले प्रश्न उठाएका छन् । यही कारणले गर्दा स्पाई यूनिभर्सको यो फिल्म यसपटक चिप्लिएको छ । विश्वकप क्रिकेटले पनि फिल्मको व्यापारमा केही हदसम्म असर गरेको केहीको टिप्पणी छ ।

तर, क्रिकेट नभएको दिनमा पनि फिल्मले गतिलो व्यापार गर्न सकेको छैन । नायक सलमान खानलाई यो फिल्मबाट ठूलो आशा थियो । तर, यो फिल्मले पनि उनको डुब्दो करिअरलाई जोगाउन सकेन ।