'पुष्पा २' को प्रदर्शन मिति घोषणा, साउनको ३१ गते रिलिज हुने

दक्षिण भारतीय फिल्म ‘पुष्पा’ को एउटा चर्चित संवाद छ ‘पुष्पा नाम सुनकर फ्लावर समझे क्या ? फ्लावर नहीँ, फायर है मे’ यो संवाद सुनेको करिब २ वर्ष बितिसक्न लाग्दा पनि फिल्मका दर्शकको मुखबाट निस्कने (हट्ने) नाम लिइरहेको छैन ।

अल्लु अर्जुन र रश्मिका मन्दनाको फिल्म ‘पुष्पा’को जोस फ्यानहरू अझै पनि छ । यस्तो अवस्थामा अब फिल्मको अर्को भागको उत्साहपूर्वक प्रतीक्षामा रहेका दर्शकहरूलाई निर्माताले एक ठुलो सर्प्राइज दिएका छन् । फिल्मको लागि फ्यानको बढ्दो प्रतीक्षाकाबीच प्रदर्शन मिति घोषणा गरिएको छ ।

निर्माण टिमले फिल्मको रिलिज मितिबारे औपचारिक जानकारी दिँदै अब यो फिल्म अगस्त १५ अर्थात् (नेपाली मिति) २०८१ साउनको ३१ गते बिहीबार रिलिज हुने भएको छ । उक्त कुराको जानकारी फिल्मका निर्देशक सुकुमारले आफ्नो सामाजिक सञ्जाल मार्फत दिएका छन् ।

यस अघि ‘पुष्पा’को दोस्रो भागले कौतुहल बढाएसँगै निर्माण टिमले फिल्मको एक टिजर सार्वजनिक गर्दै दर्शकहरूलाई पुष्पा कहाँ छ भनेर जंगलमा एक बाघसँग जम्काभेट भएको रूपमा देखाइएको छ।

फिल्म पुष्पाः द राइजमा अल्लु अर्जुनले रक्त चन्दन ओसारपसार गर्ने एक लरी चालकको भूमिका निर्वाह गरेका छन् ।  यो ग्याङस्टर फिल्मले एक सामान्य व्यक्ति कसरी संघर्ष गरेर शक्तिको उचाइमा पुग्छ भन्ने कथा चित्रण गर्छ ।

सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ को पहिलो भाग नेपाल र भारतसहित विश्वभर सुपरहिट भएको थियो। यसैले पनि धेरैको यस फिल्ममा चासो छ।
फिल्मले विश्व बक्स अफिसमा ३०० करोड भारु कमाएको जनाइएको छ । हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा फिल्म रिलिज भएको थियो । यो फिल्म भारतभर रिलिज हुने अल्लु अर्जुनको पहिलो फिल्म पनि थियो ।

‘पुष्पा द रुल’ ले बक्स अफिसमा मात्र नभई दर्शकको मन र दिमागमा पनि राज गर्ने र प्यान इन्डिया फिल्मका लागि नयाँ मापदण्ड तय गर्ने फिल्म हुने देखिन्छ।

सुकुमारको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई बहुप्रतीक्षित फिल्मको सूचीमा राखिएको छ ।