बलिउडमा आशा भोसलेको ८० वर्ष, रोचक छन् गीतका किस्सा

‘म फिल्म क्षेत्रको अन्तिम मुगल हुँ’, केही दिन अघि जब आशा भोसलेले यो कुरा भनिन्, त्यही समयदेखि यसको चर्चा भइरहेको छ ।

सेप्टेम्बर ८, १९३३ जन्मिएकी आशाले सन् १९४३ मा १० वर्षको उमेरदेखि गीत गाउन सुरु गरिन् । उनी ८० वर्षदेखि गीत गाइरहेकी छन् । जसले हंसराज बहल, ओपी नैय्यर, मदन मोहन, आरडी बर्मन, इलैयाराजा, अनु मलिकदेखि लिएर एआर रहमानसम्मको पुस्तासँग काम गरिसकेकी छन् । 

जसले रफी, मुकेश र किशोरदेखि लिएर बोय जर्ज र आदित्य नारायणसँग गीत गाएकी छन् । जसले १९९५ मा उस्ताद अली अकबर खाँका साथ एलबमका लागि ‘ग्रामी’मा मनोनयनको अवसर पाइन् ।

९० वर्षको उमेरमा यही संगीत यात्रा र अनुभवलाई समेट्नका लागि आशाले सायदै ‘मुगल’ शब्दको प्रयोग गरिन् ।

आशाले १० हजार बढी गीत रेकर्ड गराएकी छिन् र उनका हरेक गीतमा आफ्नो कथा हुन्छ । यहाँ उनका केही छानिएका गीतको पछाडि लुकेको कथाका बारेमा चर्चा गरिएको छ ।

यी किस्सा आशाले अलग अलग अन्तरवार्ता, कार्यक्रम र आफ्नो युट्युब च्यानलमा समय समयमा आफ्नो मुखबाट साझा गरेकी छन् ।

अरमान भरे दिल कि लगन– अस्वीकृत भए आशा र किशोर कुमार

सन् १९४३ मा मराठी फिल्मबाट सुरुवात गरेपछि सन् १९४५ मा आशाले हिन्दी गीत गाउन थालिन् । उनी र किशोर कुमार फिल्म उद्योगमा नयाँ थिए । संगीतकार खेमचन्द प्रकाश त्यो समयमा संगीतको ठूलो नाम थिए । आशा र किशोर खेमचन्दको गीत रेकर्ड गर्न स्टुडियोमा पुग्दा त्यहाँ रेकर्डिष्ट रोबिन बनर्जी पनि उपस्थित थिए । जहाँ दुवैले ‘अरमान भरे दिल की लगन तेरे लिए है’ गाए ।

योभन्दा अगाडिका किस्सा कैयौं पुस्तक र आशाको अन्तरवार्तामा पनि उल्लेख छ । भयो के भने गीतलाई बीचैमा रोकियो र रोबिनले दुवै गायकगायिका गाउनका लागि उपर्युक्त छैनन् भन्दै दुवैलाई अस्वीकृत गरिदिए । आजको विश्वमा दुवै गायकगायिकालाई सबैले सम्मानपूर्वक हेरिरहँदा त्यो बेला भने उनीहरु अस्वीकृत भएका थिए । ‘मोमेन्ट्स इन टाइम’ नामको सिरिजमा आशाले आफ्नो आधिकारिक युट्युब च्यानलमा यो किस्सा साझा गरेकी छन् ।

‘वर्षौपछि हामी दुवै जना एक गीत रेकर्ड गर्दै थियौं–‘आखों में क्या जी, रुपहला बादल’ । अचानक किशोर दादा रोकिनु भयो र मलाई भन्नुभयो ‘हेर भिलेन बसिरहेको छ । उहाँको भनाई रोबिन बनर्जीप्रति लक्षित थियो । जसले वर्षौअघि हामीलाई अस्वीकार गरेका थिए । जाने बेलामा किशोर दादाले भन्नुभयो, ‘रोबिन दादा तपाईंले हामीलाई चिन्नुभयो ? तपाईंले हामीलाई स्टुडियोबाट निकाल्नुभएको थियो ।’ तर मैले किशोर दादाको हात समात्दै ‘दादा यो कुरा बिर्सिनु’ भनें । यस्तो हुनुहुन्थ्यो किशोर दा’,आशाले आफ्नो च्यानलमा भनेकी छन् ।

त्यो गीत पछि तलत महमुद र गीता दत्तले फिल्म ‘जान पहचान’मा राज कपूर र नरगिसका लागि गाए ।

शुरुवातमा भएको अवरोधका बाबजुद आशाको सफलतामा संगीतबारे जानकार राजीव विजयकर भन्छन्, ‘आशा भोसलेको विशेषता यो हो कि उनी समयका साथ चल्छिन् । उनले पुरानो कुरा नै राम्रो हो भन्ने मानिनन् । उनको स्वर जति भजनमा सुट हुन्छ, त्यति नै डिस्कोमा पनि ।’

उनी भन्छन्, ‘विविधता उनको शक्ति हो र त्यो शक्तिले उनी यहाँसम्म आइन् । तपाईं ‘आगे भी जाने न तू’ गीतलाई हेर्नुहोस्, यसमा एक किसिमको दर्शन छ, यो नाइट क्लब नम्बर पनि हो । आशाको यो गीतमा एक अनौठो पीडा छ । नाइट बारमा खिचिएको गीतमा यस किसिमको भाव ल्याउनु मुस्किल काम हो, जुन आशा भोसलेले गरेकी छन् ।’

दम मारो दम गाना–जब देव आनन्दले निकालेका थिए 

सन् १९७१ मा देव आनन्दको फिल्म ‘हरे रामा हरे कृष्णा’को गीत ‘दम मारो दम’ लाई धार्मिक गीत मानिन्छ । तर आनन्द बखुशीले लेखेको यो गीत फिल्मबाट झण्डै हटाइएको थियो । 
कुरा त्यो समयको हो, जब यो गीत तयार भइसकेको थिएन । आशा भोसले नेपालमा घुमिरहेकी थिइन् र एक क्याफेमा उनले एक परिचित अनुहार देखिन् । त्यो अनुहार नजिक पुग्दा परिचित अनुहार आरडी बर्मन थिए ।

‘नेपालको क्याफेमा आरडी बर्मन कैयौं किसिमको स्पूल सुनिरहनुभएको थियो । उहाँले मलाई पनि सुनाउनुभयो । त्यसमा कुनै गीत थिएन, कुनै बोल पनि थिएन । मात्र किसिमका किसिमका आवाज थिए । आरडी बर्मनले त्यो सबै स्पूल किन्नुभयो । एक महिनापछि उहाँले मलाई एक गीत अफर गर्नुभयो । मलाई त्यो गीत निकै मनपर्यो र मैले त्यसलाई रेकर्ड गरें । तर दुई दिन पछि पञ्चमले फोन गरेर यो गीत फिल्मबाट हटाइएको जानकारी दिए । यो कुरा सुन्ने बित्तिकै म निर्देशकको घर पुगें । मैले उहाँलाई यो गीत राम्रो थियो र यसलाई नहटाउन अनुरोध गरें । मैले निकै जोड दिएँ । मैले पटक पटक भनेपछि निर्देशकले भने–तपाईं भन्नुहुन्छ भने म यो गीत राख्छु’, ‘मोमेन्ट्स इन टाइम’ सिरिजमा आशाले भनेकी छन् ।

त्यो गीत थियो ‘दम मारो दम’ र निर्देशक थिए देव आनन्द ।

यो गीत अल इण्डिया रेडियोमा प्रतिबन्ध भएको थियो, किनकी कैयौं मानिसले गीतमा लागुऔषध प्रयोग भएको छ भन्ने ठानेका थिए । तर पनि आशाको यो गीत सुपरहिट साबित भयो । यसले रातारात जीनत अमानलाई पनि स्टार बनाइदियो । यो गीतबाट आशाले फिल्मफेयर अवार्ड जितिन् ।

आजा आजा मैं हूँ प्यार तेरा– रफी–आशामाथि शर्त

सन् १९६६ मा रिलिज ‘तिसरी मन्जिल’ त्यो फिल्म थियो, जसले आरडी बर्मनलाई पहिचान दियो र शम्मी कपूरलाई अझ चर्चित बनायो ।

आशा र शम्मीबीच निकै राम्रो सम्बन्ध थियो र आशा उनलाई ‘शम्मी भैया’ भन्थिन् । शम्मीलाई संगीतप्रति लगाव थियो । आशाको रेकर्डिङमा शम्मी आउने गर्थे ।

तिसरी मन्जिल’को एक गीत थियो–आजा आजा मैं हूँ प्यार तेरा

यो गीतका लागि आरडी बर्मन आशा समक्ष गायनको प्रस्ताव लिएर गए । त्यो बेला पञ्चम नयाँ थिए ।

इण्डियन आइडलमा आशाले यो गीतसँग जोडिएको किस्सा सुनाएकी थिइन् ।

‘बर्मनजीले गीत सुरु गर्नुभयो ‘आज आज मैं हूँ प्यार तेरा’ । जब उहाँले ‘अ आ आजा’ वाला पोर्शन बताउनुभयो, तब म झस्किएँ कि यो मबाट हुँदैन थियो । मेरो स्वाभिमान चकनाचुर भयो । मैले चार–पाँच दिनपछि गीत गाउँछु भने’, आशाले भनेकी छन्, ‘म ओ हा हा को अभ्यास गर्थें । म गाडीमा पनि अभ्यास गर्थें । उता नाजिर हुसेन र पञ्चमले रफी जी र ममाथि कसले राम्रो गाउँछ भनेर ५ सय रुपैंयाँको शर्त लगाउनुभयो । म त निकै डराएको थिएँ । म लता दिदीको कोठामा गएँ । उहाँले ‘किन छटपटाएको ? तिमीले बिर्सियौ कि तिमी पहिला मंगेशकर हौ अनि मात्र भोसले हौ । जाउ तिम्रो गीत राम्रो हुनेछ ’ भनेर भन्नुभयो । मैले गीत गाएँ र पञ्चमले ममाथि लगाएको ५ सय रुपैंयाँको शर्त जिते ।’

दिल्ली का ठग– किशोरलाई चाहिएको थियो गधा

सन् १९५८ मा किशोर कुमार र नुतनको फिल्म ‘दिल्ली का ठग’ रिलिज भएको थियो । यो फिल्ममा मजरुह सुल्तनापुरीको शब्द र रविको संगतिमा एक गीत थियो–सीएटी क्याट, क्याट माने बिल्ली ।

नोकझोंकवाला गीतमा यो गीत प्राय अब्बल गीतका रुपमा गनिन्छ । आशा भोसले र किशोर कुमारले यो गीत रेकर्ड गर्नुपर्ने थियो । त्यो समयमा फिल्मका निर्माता तथा निर्देशक एसडी नारंग पनि उपस्थित थिए ।

गीतको शब्द जनावर वरपर घुमेको थियो । जस्तै ‘सी ए टी–क्याट, क्याट माने बिल्ली, आर ए टी–र्याट र्याट माने मुसा, या जी ओ ए टी गोट गोट माने बकरी, एल आइ ओ एन लायन लायन माने शेर अरे दिल है तेरे पञ्जे में तो क्या हुआ’

किशोर कुमारको छवि यस्तो बनेको थियो कि कहिले काहीँ उनी अनौठो काम गर्थे । आशा भोसले यो गीतको पछाडिको रोचक किस्सा सुनाउछिन् ।

‘हामी गीत गाइरहेका थियौं । अचानक किशोरजीले चश्मा तल सार्नुभयो र हेर्नुभयो । मैले बुझें कि उहाँ केही मजाक गर्दै हुनुहुन्छ । किशोर दादाले आफूलाई गधा चाहिएको भन्नुभयो । उहाँले गीत जनावरको बारेमा भएकाले गधा आएपछि गीतमा भावना आउने बताउनुभयो । निर्देशक नारंग साहबको बानी थियो कि उहाँ हरेक कुरामा सही थप्नुहुन्थ्यो । जब किशोर दादाले आफ्नो कुरा राख्नुभयो निर्देशकले सही भन्नुभयो । तुरुन्तै उहाँले आफ्नो टीमलाई गधा खोजेर ल्याउन उर्दी गर्नुभयो । मलाई थाहा थियो कि मुम्बईको बीचमा गधा कहाँ पाउँछ । त्यसपछि मैले दादालाई भोक लागेकाले हामी त्यो समयसम्म चिया बिस्कुट खान्छौं भने । जब हामी फर्किरहेका थियौं किशोर दादाले मलाई भन्नुभयो कि ‘हेर मानिसले मलाई पागल भन्छन्, आज देख्यौं मैले सबैलाई गधा बनाइदिएँ’, आशा सम्झिन्छिन् ।

आशाको परिवार

आशा एक ठूलो परिवारमा हुर्किबढेकी हुन्, जहाँ उनको बहिनी लता, उषा, मीना र भाई हृदयनाथ थिए । आशा र उनको भाईको सम्बन्ध निकै गहिरो थियो । आशाकै भनाईमा भाई जहिल्यै उनको काखमै हुन्थे । उनलाई जे चाहिन्थ्यो आशासँग माग्थे । आशालाई घोडा बनाउँथे ।

आशाले परिवारको इच्छाविपरित १६–१७ वर्षको उमेरमा गणपतराव भोसलेसँग विवाह गरेकी थिइन् । यसपछि केही वर्षसम्म उनको परिवारसँग सम्बन्ध टुट्यो । केही वर्षसम्म भाईसँग पनि भेट गरिनन् ।

सन् १९९१ मा दुरदर्शनमा प्रसारित एक अन्तरवार्तामा उनलाई ‘के कहिल्यै यस्तो भयो कि कुनै गीत गाएपछि त्यसको असर लामो समयसम्म रह्यो ?’ भनी सोधिएको थियो ।

‘एक गीत छ, जसको असर आजसम्म ममाथि छ । मैले निकै छिटो विवाह गरेको थिएँ र आफ्नो भाईसँग वर्षौसम्म टाढिएँ । बाल्यकालमा जसरी आमाले छोराछोरीलाई लिएर घुम्छिन्, त्यसरी नै मैले भाईलाई सम्हालेको थिएँ । जब मेरो छोरा जन्मियो, तब मैले भाईलाई छोरामा खोज्थें । वर्षौपछि मसँग एउटा गीत आयो । तर एसडी बर्मन साहब पटक पटक मलाई ‘तिमीले गीत ठिकसँग गाएनौं’ भन्नुहुन्थ्यो’, आशाले भनेकी छन् ।

‘मैले भनेकी कि ‘के गरौं दादा कति समयदेखि गाइरहेको छु’ । उहाँले अचानक माइकबाट भन्नुभयो, ‘के तिम्रो भाई छैन ? तिमीलाई भाईको सम्झना आउँछ कि आउँदैन ?’ उहाँले यति भनेपछि मैले रुन सुरु गरें । बर्मन दादाले देख्नुभयो र भन्नुभयो, ‘अहिले गीत गाउनु’ । त्यो गीत थियो ‘मैं अबके बरस भेज भइया को बाबुल’ । अहिले पनि यो गीत गाउन सुरु गर्दा म रुन थाल्छु ।’ उनले भनेकी छन् ।

फिल्म ‘बन्दिनी’मा रहेको यो गीत नूतनका साथ जेलमा रहेकी एक महिला कैदी गाउँछिन् । यो गीत शैलेन्द्रले लेखेका हुन्, जसको एक सयौं वर्षगाँठ मनाइँदैछ ।
–बीबीसीबाट