सलोनले किन भने–‘हत्तेरी, अब त अत्ती भो’


नायक सलोन बस्नेत मिडियाकर्मीले सोध्ने एक प्रश्नले जहिले हैरान छन् । फिल्म क्षेत्रमा लागेको १० बर्ष भैसक्दा पनि सलोनलाई मिडियाकर्मीले सधै एउटा प्रश्न सोधेर हैरान पार्छन् । 

मेरो फिल्मसँगको कुराकानीमा सलोनले भने–‘हत्तेरी, अब त अत्ती भयो भन्या । जहिले एउटै प्रश्न । किन लिड भूमिकामा काम नगरेको, किन सहायक भूमिकामा मात्र काम गरेको ? यो प्रश्नले मलाई हैरान बनाइसक्यो । पत्रकारहरुले सधै यही प्रश्न सोध्नुहुन्छ, म जहिले एउटै जवाफ दिन्छु ।’

सलोनले अब यो प्रश्नको जवाफ आफ्ना लागि कुनै नयाँ नभएको बताए । यसैले, अब मिडियाकर्मीलाई नयाँ प्रश्न सोध्न सलोनको आग्रह छ । 

सलोनले अधिकांश फिल्ममा मुख्य नायक भन्दा पनि सहायक नायकको रुपमा काम गरेका छन् । जहाँ, उनको भूमिकालाई लिएर खुबै चर्चा हुने गर्दछ । सलोन अधिकांश फिल्ममा नायकको साथीको रुपमा देखिने गरेका छन् ।

तर, मुख्य नायकको रुपमा नचल्दा उनलाई मिडियाकर्मीको एउटै प्रश्नको सामना गरिरहनु परेको छ । फिल्म ‘जय हो’ले सलोनलाई यो प्रश्नबाट मुक्त गराउँछ भन्ने आशा गर्न सकिन्छ ।