‘ऐँचो पैँचो’मा किन बसेन वर्षाको मन ?

उसो त नायिका वर्षा राउतको मन नेपाली फिल्म क्षेत्रमै पहिले जसरी कस्सिएको छैन । वर्षा जुन बेगले फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन्, आज उनमा त्यो रफ्तार हराएको छ । उनै, वर्षा अभिनीत फिल्म ‘ऐँचो पैँचो’ भदौको १४ गतेबाट रिलिज हुँदै छ ।

यो फिल्ममा उनी मुख्य भूमिकामा छिन् । तर, फिल्मको प्रचारदेखि फिल्मका प्रचार सामाग्री सार्वजनिक कार्यक्रममा भने वर्षाको मन बसेको छैन । जसरी नायिका स्वस्तिमा खड्का फिल्मको प्रचारमा लागिपरेकी छिन्, वर्षा खासै जोडिएकी छैनन् । 

सोमबार आयोजित फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा पनि वर्षा उपस्थित भइनन् । फिल्मको गीत सार्वजनिक कार्यक्रममा पनि वर्षा अन्तिमतिर उपस्थित भएकी थिइन् । 

अन्य प्रचारका कार्यक्रममा उनको सक्रियता खासै देखिएको छैन । जसले गर्दा, करिअरका लागि महत्त्वपूर्ण रहेको यो फिल्मको प्रचारमा वर्षा किन सक्रिय रूपमा नदेखिएकी होलिन् भन्ने प्रश्न उठेको छ । 

फिल्ममा वर्षा गाउँकी एक यूवतीको भूमिकामा छिन् । कतै, फिल्मको हरेक प्रचार सामाग्रीमा अर्की नायिका स्वस्तिमा खड्कालाई बढी स्थान दिइएकोमा वर्षामा असन्तुष्टि बढेको त होइन ? यो विषयमा वर्षाले पक्कै पनि जवाफ दिनेछिन् भन्ने आशा गर्न सकिन्छ ।