रेखा थापालाई फिल्म सुरु गर्नै गाह्रो

केही बर्ष अगाडि सम्म नायिका रेखा थापा फिल्म निर्माण नम्बर १ थिइन् । उनले निर्माण गरेका फिल्मले बक्स अफिसमा गरेको कमाई आजका धेरै फिल्मका लागि आकाशको फल जस्तै हुन् । 

उनै, थापालाई विगत केही समयदेखि भने फिल्म निर्माण सुरु गर्न नै धौ धौ परिरहेको छ । रेखाले फिल्म ‘उपहार’ निर्माण गर्ने तयारी गरेकी छिन् । फिल्मका लागि नायिकाहरूको लाइनअप बल्ल सकिएको छ । नायकको हकमा अझै एक जना नायक फाइनल गर्न नै बाँकी छ ।

यसपटक, ज्ञानेन्द्र देउजाले फिल्म निर्माण र निर्देशन दुवैमा अग्रसरता देखाएका कारण रेखालाई केही हदसम्म सजिलो भएको हो । होइन भने यस अगाडि रेखाले घोषणा गरेका फिल्म घोषणामै सीमित भए । 

उसो त, यो फिल्म पनि विवादबाट बल्ल मुक्त भएको छ । फिल्मको लेखनमा देखिएको विवाद रेखा र ज्ञानेन्द्रले हल गरेका छन् । 

रेखाले यस अगाडि फिल्म ‘कसले चोर्यो मेरो मन २’ बनाउने घोषणा गरिन् । तर, यो फिल्म घोषणामा नै सिमित भयो । उनले नायकद्धय सौगात मल्ल र दयाहाङ राईलाई राखेर फिल्म बनाउने घोषणा गरिन् । यो पनि बनेन । निर्देशक रेनशा वान्तवा राइसँगको सहकार्यमा उनले फिल्म बनाउने तयारी गरिन् । तर, उक्त फिल्म पनि स्क्रिप्टको काममा नै अड्कियो । 

यसैले, कुनै बेलाकी हिम्मतवालीलाई अहिले फिल्म निर्माण गर्न नै सकस देखिएको छ । ‘उपहार’ विना अवरोध रिलिज होस्, शुभकामना ।