'उपहार' विवाद साम्य

आगामी भदौबाट निर्माणको तयारीमा रहेको फिल्म ‘उपहार’को स्क्रिप्ट विवाद मिलेको छ । लेखक सुलक्षण भारतीले फिल्ममा आफूलाई क्रेडिट नदिएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेपछि केही समय फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा र सुलक्षणबीच जुहारी नै चलेको थियो । 

मंगलबार फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा र निर्मात्री तथा अभिनेत्री रेखा थापाले सुलक्षणलाई भेटेर फिल्मको कथा, पटकथा तथा संवादमा नाम उल्लेख गर्ने प्रतिबद्धता जनाएपछि विवाद साम्य भएको हो । 

सुलक्षणले फिल्मको टिमसँगको विवाद समाधान भएको फेसबुकमार्फत जानकारी दिएका छन् । ‘अन्त्यमा रेखाजी र ज्ञानेन्द्रजीसँग कुरा भयो । हामी एउटा निष्कर्षमा पुग्यौं । कथा, पटकथा र संवादमा मेरो नाम उल्लेख गर्ने भनी हामीबीच सम्झौता भयो । यस विषयलाई यतै टुङ्याउने हामीले सल्लाहअनुसार कुरा भएको छ,’ निर्माताबाट बाँकी पारिश्रमिक नलिने पनि जनाउदै अगाडि लेखेका छन्, ‘‘मेरो बुझाईमा उहाँहरुले बौद्धिक सम्पत्ति र वान लाइनको कन्सेप्ट बुझ्नु भएको रहेन रैछ । अन्त्यमा उहाँहरुले यो सिनेमा मेरो वान लाइनको कन्सेप्ट हो भन्ने कुरा स्वीकार गर्नुभयो । कथा भनेकै मूल कन्सेप्ट हो ‘वान लाइन’, जुन मैले लेखेको हो । अब कुरा आयो मेरो अनुमत्ति बिना कसरी अरु लेखकलाई कथा लेख्न दिइयो त ? कन्सेप्ट मेरो भएपछि मेरो अनुमति लिनुपर्छ ।’

त्यस्तै, निर्देशक देउजाले फेसबुकमा स्टाटस लेख्दै सामान्य कुरा बुझाबुझ नहुँदा विवाद जन्मिएको उल्लेख गरेका छन् । ‘मात्र बुझाई फरक थियो । सबैका आ–आफ्नै कर्तव्य र बुझाईमा घटिबढीको अवस्था थियो । परिवारभित्रै छलफलमा मिलाइयो । शुलक्षण भारतीजीलाई ‘उपहार’ परिवारमा स्वागत गरिएको छ ।’ उनले लेखेका छन् ।