पुष्प खड्काको स्टारडम होइन अभिनय बिक्छ

गतबर्ष रिलिज भएका तीन वटा फिल्मले बक्स अफिसमा पानी पनि नभनेपछि नायक पुष्प खड्काले यो बर्ष नयाँ फिल्म साइन गरेका छैनन् । उनलाई अब फिल्म साइन गर्न सहज छैन । 

किनकी, अब उत्कृष्ट कथामा फिल्म साइन नगर्ने हो भने पुष्पलाई फिल्मी करिअर अगाडि बढाउन समस्या छ । यसैले, उनले फिल्म साइन गर्न हतार गरेका छैनन् । 

फिल्म चल्नका लागि अचेल स्टारडम होइन मेकर र उत्कृष्ट कथा आवश्यक पर्ने देखिएको छ । नाम चलेका कलाकारहरु असफल भैरहेको समयमा फिल्मीकर्मी र मिडियाकर्मीले नै नपत्याएका फिल्म चलिरहेका छन् । यसैले, पुष्पलाई पनि राम्रा मेकरसँग उत्कृष्ट कथामा फिल्म गर्न आवश्यक छ । 

पुष्पको करिअर सुरुवातमा सुखद थिएन । तर, फिल्म ‘मंगलम’मा काम गरेपछि भने उनी धेरै मेकरको नजरमा परेका थिए । पुष्पको स्टारडमले यो फिल्म चलेको होइन । तर, यो फिल्ममा उनले गरेको अभिनयले सर्वत्र चर्चा पायो । उनको अभिनयलाई दर्शकले निकै रुचाए । यही फिल्मबाट उनले ‘राष्ट्रिय फिल्म पुरस्कार’ प्राप्त गरे । 

फिल्म ‘मारुनी’लाई  दर्शकले रुचाए । तर, पुष्पको अभिनयको यसमा त्यती प्रशंसा भएन । यसपछि भने पुष्पले अभिनय गरेका फिल्ममा उनले गतिलो भूमिका पाएका छैनन् । जसकाकारण, उनलाई फिल्म क्षेत्रमा चल्न गाह्रो भैरहेको छ । 

पुष्पको फिल्ममा स्टारडम होइन, अभिनय चल्छ । यसैले, उनले बलियो भूमिकामा काम गर्न जरुरी छ ।